काठमाडौं ,१२ भदौ ।
७ जना हुण्डी कारोबारी विरुद्ध ४ अर्ब १४ करोड ३८ लाखको विगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।
राजस्व अनुसन्धान विभागले एक बर्षको अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा उनीहरु विरुद्ध सो रकम बराबरको विगो माग दाबी गरेको हो । सो रकम अहिले सम्म कै बढी विगो मागादबी गरिएको विभागले जनाएको छ ।
विभागले पोखराका मिलन गुरुङ र धर्म गुरुङ, लवकुमार नेपाल, निलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ र लबबहादुर पुन विरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
करिब डेढ बर्ष अघि काठमाडौंको लैनचौर वृत्तले सुन्धाराको जेबो ट्रभाल्समा हुण्डी गरिएको १२ लाख नेपाली रुपैयाँ बरामद गरेको थियो ।
प्रहरीले हुण्डी रकम सहित सो ट्रभाल्सका कामदार दलबहादुर पुन र लवकुमार नेपाललाई पक्राउ गरेको थियो । सो ट्राभल्सका संचालक मिलन गुरुङ र धर्म गुरुङ भने विदेशमै रहेकाले उनीहरु पक्राउ पर्न सकेका छैनन् ।
विदेशी विनिमय नियमन ऐन २०१९ को दफा १७ अनुसार विगो जफत गरिएको ३ गुणा जरिवाना र ३ बर्ष सम्मको कैद सजाय हुन सक्ने व्यवस्था भएको विभागका सूचना अधिकारी देवी प्रसाद थपलियाले जानकारी दिनुभयो ।