काठमाण्डौ , ८ भदौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुईदेशबीच विभिन्न क्षेत्रका आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको २५ करोड अमेरिकी डलर अर्थात करिब २५ अर्ब रुपैयाँ अनुदान सहयोग परिचालनका लागि चार विधामा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीअनुसार स्वास्थ्य, सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्र क्रमशः पाँच, पाँच करोड अमेरिकी डलर र भूकम्पपीडितका घर निर्माणका लागि १० करोड अमेरिकी डलर (१० अर्ब रुपैयाँ) खर्च हुनेछ ।
यसैगरी,गुणस्तर तथा नापतौलसम्बन्धी, एसियाली विकास बैंकको सहयोगमा सञ्चालित दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) कार्यक्रमअन्तर्गत मेची पुल निर्माण र लागुऔषध ओसारपसार नियन्त्रण गर्ने समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।
दुई मुलुकका गुणस्तर तथा नापतौल निकायबीच हुने समझदारीले नेपालले गुणस्तर चिह्न दिएका वस्तुलाई भारतले मान्यता दिने र भारतले गुणस्तर चिह्न दिएका वस्तुलाई नेपालले मान्यता दिने परिपाटी निर्माण हुने अपेक्षा छ । समझदारीबाट दुई देश जोड्ने मेची पुलको विस्तार र स्तरोन्ति हुनेछ ।
नेपाल र भारतको चाटर्ड एकाउन्टेन्टबीच समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षीले पनि ४ सय केभीको ढल्केबर मुजफ्फपुर प्रसारण लाइन मार्फत ८० मेगावाट बिजुली नेपाल पठाउन संयुक्त रूपमा स्विच थिचेर सुरु गर्नुभएको थियो ।