३१ साउन,काठमाडौं । चुनावी प्रचारको बेला काठमाडौंबासीलाई धुँवा धुलोबाट मुक्त बनाउने, स्मार्ट सिटी र मनोरेलको भाषण गरेका काठमाडौं महानगरका मेयर विद्यसुन्दर शाक्यले १ सय दिन वित्न नपाउँदै त्यसको विपरित बोल्न थालेका छन् ।
मेयर शाक्यले एक पत्रिकालाई दिएको अन्तरवार्तामा धुँवा-धुलो र खाल्ड हटाउने काम अाफ्नो नभएर सडक विभागको भएको बताएका छन् । उनले मेलम्ची र केयूकेएलले सडक विगारेको तर गाली अाफूले खानु परेको भन्दै गुनासो समेत गरेका छन् ।
त्यसैगरी मेयर शाक्यको अर्को चुनावी नारा थियो स्मार्ट सिटी । उनले अहिले अाएर काठमाडौंभित्र स्मार्ट सिटी बन्न नसक्ने बताएका छन् । उनले ठाउँ अभावका कारण स्मार्ट सिटी बनाउन नसकिने बताए ।
”स्मार्ट सिटी काठमाडौँभित्र बन्दैन । तर, स्मार्ट सिटीमा पाइने सुविधा हामीले उपलब्ध गराउने हो । अलग्गै सहर बनाउन यहाँ ठाउँ छैन, त्यसैले स्मार्ट सिटी बनाउनचाहिँ सकिन्न” शाक्यले भनेका छन् ।
चुनाव जितेर सपथ खाएको भोलि पल्टै विहानै कुचो समाएर सडकमा पुगेका शाक्यले सूर्य अाउँदा धुलो सफा हुन्छ भनेको काठमाडौंबासीले भुलेका छैनन् ।