काठमाडौँ, ३१ साउन ।
भारतको ७१ औं स्वतन्त्रता दिवसका अवसरमा नेपाललाई ३० वटा एबुलेन्स दिएको छ ।
नेपालस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न संघ संस्थालाई ३० वटा एम्बुलेन्स तथा ६ बस उपहार दिएको हो । भारतीय राजदूतावासमा आज आयोजित कार्यक्रममा अस्पताल, परोपकारी संस्था र शैक्षिक संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो ।
त्यसैगरी दूतावासले विभिन्न स्थानका ६६ वटा पुस्तकालयलाई पुस्तक र शैक्षिक सामाग्रीसमेत हस्तान्तरण गरेको छ । यसअघि पनि भारतले स्वतन्त्रता दिवसका अवसरमा नेपालका ७३ जिल्लाका विभिन्न संघसंस्थालाई बस, एम्बुलेन्स, पुस्तक तथा विभिन्न शैक्षिक सामग्री प्रदान गर्दै आएको छ ।
कार्यक्रममा नेपालका लागि भारतका राजदूत मन्जिवसिंह पुरीले भारतको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै भारतका राष्ट्रपतिले स्वतन्त्रता दिवसको शुभकामना सन्देश पढेर सुनाएका थिए ।