काठमाडौ ३० साउन ।
गत शुक्रबारदेखि परेको अविरल वर्षा कम हुदै गएसँगै बाढी पहिरो जाने क्रम पनि विस्तारै कम हुदै गएको छ । पश्चिमी क्षेत्रका केहि स्थानमा बर्षा भइरहेपनि अन्य स्थानमा भने भारी बर्षा भएको छैन ।
पानी पर्न रोकिएसंगै तराईका जिल्लामा डुवान पनि घट्दै गएको छ । मौसम पुर्वानुमान महाशाखाले पुर्व र मध्य क्षेत्रमा बादल लागेर सामान्य बर्षा हुने जनाएको छ ।
पश्चिम क्षेत्रमा भने आज रातीबाट मात्र बर्षाको क्रम कम हुँदै जाने विभागको भनाई छ । बाढी पहिरोबाट अहिलेसम्म ७० भन्दा बढीको मृत्यु भइसकेको छ । ५० भन्दा बढी बेपत्ता छन् । गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा सबैभन्दा बढी सुनसरीमा ९ जनाको मृत्यु भएको छ ।
यस्तै रौतहटमा ७ जनाको मृत्यु भएको छ भने झापामा ४, मोरङमा ५, सर्लाहीमा ३, महोत्तरीमा १, धनुषामा १, सिन्धुलीमा ४, बारामा ३, रुपन्देहीमा १ र चितवनमा २ जनाको मृत्यु भएको छ ।
बाढी तथा पहिरोका कारण करिब १९ हजार घरपरिवार विस्थापित भएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । प्रभावित बासिन्दालाई मुख्य गरेर पिउने पानी र खाद्यान्नको समस्या देखिएको छ ।
यस्तै रुपन्देहीको सिपवामा बाढीका कारण घर भत्किँदा गएराति एकजनाको मृत्यु भएको छ । कोटहीमाई गाउँपालिका–१ सिपवाका फागु हरिजनको घर भत्किँदा उहाँका १५ वर्षका छोरा रोशनको मृत्यु भएको हो ।
फागु र उहाँकी श्रीमती शीला घाइते भएको प्रहरीले जनएको छ । दुवैजनालाई उपचारका लागि स्वास्थ्य संस्था लगिएको छ ।