काठमाडौं ,साउन २५ ।
विभिन्न माग राख्दै आमरण अनसनमा बस्नु भएका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसिको जीवन रक्षार्थको अपिल सहित मुलुकभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सकहरु आन्दोलित भएका छन् ।
सरकारी उदासिनताको विरोध स्वरुप उनीहरूले हातमा कालोपट्टी बाधेर काम गर्ने घोषणा गरेका हुन् । सरकारी चिकित्सक संघ गोडानले आफ्नो विरोधलाई सरकारले अटेर गरे सरकारी स्वास्थ्य संस्थानमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
सरकारले कागजी रुपमा माग सम्बोधन गर्ने तर व्यवहारमा नउतार्ने प्रवृत्तिले डा. केसीलाई ११ औं पटक अनसन बस्न बाध्य पारेको उल्लेख गर्दै गोडानले सरकार चिकित्सा शिक्षा र सेवामा संवेदनशील नभएको आरोप समेत लगाएको छ ।
चिकित्सा शिक्षा क्षेत्रको सुधार लगायत विभिन्न माग राख्दै ११ औ पटक अनसनमा बस्नु भएका डा केसीको अनसन आज १७ दिन पुगि सकेको छ । डा के सी अनसन बसेको लामो समय भइ सक्दा पनि सरकारी पक्ष बाट समस्या समाधानका लागि ठोस पहल समेत हुन सकेको छैन ।
समस्या समाधानका लागि सरकारी पक्ष र डा केसी पक्ष विच पाँचौ पटक सम्म वार्ता भए तापनि वार्ताबाट ठोस निष्कर्ष निस्कन सकेको छैन । सरकारी वार्ता टोली र डा केसीको वार्ता टोली विच चार दिन यता देखि वार्ताको प्रयास समेत हुन सकेको छैन ।
अनसन बसेको लामो समय भएकाले डा केसीको स्वास्थ्य अवस्था भने दिन प्रति दिन जटिल बन्दै गएको छ । डा केसीको शरिरमा सेतो रक्तकोषको संख्यामा कमीसंगै पोटासियम, म्याग्नेसियम लगायत इलेक्ट्रोलाइटको समेत कमी बढ्दै गएको उहाँको निगरानी गरिरहेका चिकित्सकले बताएका छन् ।
यस्तै डा केसीको मागमा समर्थन जनाउदै नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसनले पनि हिजो देखि त्रिवि शिक्षण अस्पतालको आन्तरिक तथा शल्यक्रिया सेवा बहिष्कार गरेका छन् भने गत साउन १८ गते देखि अस्पतालको ओपिडी सेवा बहिष्कार गर्दै आएको छ ।