चितवन , २३ साउन ।
नेकपा एमाले चितवनले पुन निर्वाचनको बिषयमा सर्वोच्चमा जानु नै गल्ती भएको ठहर गरेको छ ।
प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले भरतपुर महानगरपालिकाको निर्वाचनको विषयमा सर्वोच्चमा जाँदा आफू पराजित भएको बताउनु भयो ।
नेकपा एमाले चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले निर्वाचन आयोगले गरेको पुनः मतदानको निर्णय नमान्दा पराजित भएको उहाँको भनाई छ । वडा नम्बर १९ को मतगणना चलिरहँदा मतगणनाको क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदानको निर्णय गरेको थियो ।
एमालेले त्यो निर्णयकोविरुद्ध पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट हालेको थियो । सार्वेच्चको निर्णयमा ढिलाई हुँदा यो अवधिमा विपक्षीले तयारीको समय पाएकाले हार भएको ज्ञवालीले बताउनुभयो ’लम्ब्याउने कुरा उहाँहरुको सेटिङ रहेछ ज्ञवालीले भन्नुभयो ,यो बीचमा उहाँहरुले चलखेल गर्ने मौका पाउनुभयो।‘
ज्ञवालीले आयोगको निर्णय मानेर सोझै चुनावमा गएको भए आफूले चुनाव जित्ने दावी पनि गर्नुभयो । महानगरपालिकाको प्रमुखमा ज्ञवालीलाई पराजित गर्दै माओवादी केन्द्रकी रेणु दाहाल विजयी हुनुभएको हो । मेयर पदमा आफू हारेपनि राजनीतिमा जितेको ज्ञवालीको दावी छ । नेकपा एमाले चितवनले राज्यसत्ताको दुरुपयोग गरेर आफ्ना उम्मेदवार हराएको आरोप लगाएको छ।
आफूहरुले निर्वाचन जित्ने भएपछि आर्थिक प्रलोभनमा पारेर षड्यन्त्र गरेको एमाले चितवनको आरोप छ । लोकतान्त्रिक प्रतिस्पर्धामा हारजित हुनु स्वभाविक भएपनि सत्तागठबन्धनले सत्ताको दुरुपयोग गरेर प्रमुख पदमा एमालेका उम्मेदवारलदाई पराजित गरेको एमाले चितवनको आरोप छ ।
पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर एमाले चितवनले लोकतान्त्रिक प्रक्रियामाथि प्रहार भएको आरोप लगाएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर १९को पछिल्लो मतमपरिणाम स्वभाविक मान्न नसकिने एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले बताए । पैसा खर्च गरेर जितेको उनले आरोप लगाए । भरतपुरका वडामा विजयी भएका आफ्ना जनप्रतिनिधिले जनताको मन जित्नेगरी काम गर्ने एमाले चितवनको भनाई छ ।
एमालेले मतपत्र च्यात्नेलाई साक्षी राखेर सपथ नलिने भन्दै सपथ बहिस्कार गरेको जनाएको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिले आज सपथ लिदैँ छन् ।