२१ साउन,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य गगनबहादुर खड्का ‘जीवन’ लाई कारवाही गरेको छ । राजधानी बाहिर हालै सम्पन्न केन्द्रीय समितिको बैठकले जीवनलाई निलम्बन गरेको हो ।
यो दोस्रो कारवाही हो । यसअघि जीवनलाई भेरी-कर्णाली ब्यूरोको इन्चार्जबाट हटाएको थियो ।
नेता जीवनले पार्टीको सिद्धान्त र पद्धतिभन्दा बाहिर गएर विभिन्न गतिविधिमा संलग्न भएका कारण महासचिव विप्लवको प्रस्तावमा बैठकले कारवाही गरेको सहभागी एक नेताले जानकारी दिए ।
यस्ता छन् पाँच कारणहरु
१. पार्टीका गोप्य सूचना लिकः
नेकपा स्रोतका अनुसार नेता जीवनले पार्टीको बैठकका निर्णयहरु माओवादी केन्द्रका नेताहरुलाई पुर्याउँदै आएका थिए । नेकपाको केन्द्रीय सदस्य भएपनि माओवादी केन्द्रका नेताहरुसँग बाक्लो उठबस भइरहन्थ्यो । पार्टीका गोप्य सूचना तथा दस्तावेजहरु मिडियाहरुलाई बेच्ने गरेको नेकपाका नेताहरु बताउँछन् ।
२. पार्टीको नाममा चन्दा उठाएर भ्रष्टाचारः
खड्काले पार्टीको नाममा चन्दा उठाएर हिनामिना गरेको आरोप उनीमाथि पटक पटक लाग्दै आएको थियो । स्रोतकाअनुसार पश्चिम नेपालमा सल्लाबाट खोटो संकलन गर्ने उद्योग, व्यक्ति, उद्योग र सरकारी तथा गैरसरकारी निकायबाट पार्टीको नाममा चन्दा उठाएर ठमेलमा एक होटल संचालन गरेका छन् ।
त्यस्तै, नेपालगंजको घर, फेन्सी पसल र जिल्ला आईएमई पनि पार्टी र विप्लवको नामको दुरुपयोग गरेर उठेको पैसाबाट खरिद गरेका छन् । हरेक बैठकहरुमा उनको सम्पतिको स्रोतबारे कुरा उठ्ने गरेको तर उनले कहिलै पनि जवाफ दिन नसकेको एक जिल्ला नेताले बताए । खड्काको घरमा कोही जागिरे नभएकार र व्यापार नभएपनि करोडौं सम्पतिका मालिक बनेका छन् ।
३. पार्टीकै दलित नेताहरुको अपमानः
खड्काको कार्यशैली र चन्दा उठाएर हिनामिनाबारे उठाउँदा जनस्वयमसेवकका तत्कालीन उपाध्यक्ष पुनितसहितका दलित नेताहरुमाथि सामाजिक संजालमै तल्लोस्तरको गाली गरे । त्यही विषयमा केही समय पहिले महासचिव विप्लवले नै स्पष्टिकरण लिएर आत्मालोचना गर्न लगाएका थिए । त्यसपछि विप्लवसँग खड्काले बोलचाल गर्न छोडेका थिए ।
४. नेपाली काँग्रेसका युवा नेता रविन्द्र शाहको हत्या योजनाः
केही महिना पहिले जाजरकोटका नेपाली काँग्रेसका युवा नेता शाहको हत्या योजनाका मुख्य योजनाकार नै खड्का भएको अारोप पार्टीभित्र छ । व्यक्तिगत इगो र चन्दा नदिएको विषयलाई लिएर शाहको हत्या योजना बनाएको हत्या आरोपमा पक्राउ गरेकाहरु नै बताउँछन् । यसबारे पार्टीले स्पष्टिकारण माग्दा अहिलेसम्म भाग्दै अाएका थिए ।
शाहको हत्या घटनालाई नेकपाले भेरी-कर्णाली ब्यूरोबाट हटाएर खड्कालाई कारवाही गरेको थियो । उनको ठाउँमा केन्द्रीय सदस्य खुमा सुवेदीलाई जिम्मा दिइएको थियो ।
५.पार्टी बैठकहरुमा अनुपस्थितः
नेकपाका एक नेताका अनुसार पार्टीका अधिकांश बैठकमा खड्का अनुपस्थित हुने गरेका थिए । “जबजब बैठक आउँछ जीवनजी बिरामी भइहाल्नु हुन्थ्यो” एक नेताले अनलाइन डबलीसँग भने ।
स्रोतका अनुसार खड्काले वैद्यको नेतृत्वमा भएको पहिलो विभाजन र विप्लवको नेतृत्वमा भएको दोस्रो विभाजनमा अन्तिम चरणमा पछीपछी लाग्दै आएका थिए । अन्तरसंघर्ष र दुई लाइन संघर्षको सड्काको कुनै भूमिका नरहेको नेकपाका नेताहरुको दाबी छ ।-अनलाईन डवलीबाट