चितवन , २१ साउन ।
भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदानपछि अहिले मतगणना भईरहेको छ ।
हालसम्म २००७ मत गणना भईसक्दा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालबीचको घटेर मतान्तर ४ सय १७ मा पुगेको छ ।
आज बिहान सार्वजनिक पछिल्लो मतपरिणम अनुसार ज्ञवालीले ४१ हजार ६ सय ६९ मत ल्याउनु भएको छ । भने काग्रेस माओवादी गठाबन्धनकी उम्मेदवार रेणुले ४१ हजार २५२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपमेयरमा भने कांग्रसकी पार्वती शाहले ४५ हजार १ सय ४० र एमालेकी दिव्य आचार्यले ३८ हजार ३ सय ३८ मत पाउनुभएको छ ।आज राती अबेरसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले बताउनुभयो ।
भरतपुरको कर्भड हलमा जारी मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा ३ वटा सिसि टिभी क्यामरा जडान गरिएको छ भने तार जाली लगाएर गणक र पार्टी प्रतिनिधिलाई छुट्ट्याएर राखिएको छ ।
बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनपछि मतगणना गर्ने क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि त्यहाँ पुन: मतदान भएको हो । भरतपुर महानगरको प्रमुखमा एमालेबाट देवी ज्ञवाली र माओवादी केन्द्रबाट रेणु दाहाल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
३ हजार ७ सय ९७ मतदाता रहेको वडा नम्बर १९ मा शुक्रबार २ हजार ८ सय ७० मत खसेको छ । यसअघि २ हजार८ सय ९७ मत खसेको थियो । भरतपुरका २९ वटा वडामध्ये २७ वटा वडाको परिणाम आइसकेको छ ।