बाग्लुङ, साउन २० ।
बाग्लुङमा गएको पहिरोमा परी एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ । एक बृद्धा वेपत्ता छिन् ।
अविरल वर्षापछि निशीखोला २ बाहुन गाउँमा गएको पहिरोमा पुरिएर एउटै परिवारको चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६८ वर्षका मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षकी नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र १८ वर्षीया छोरी गीता छन्त्याल छन् ।
निशीखोला १ हुल्दीमा गएको पहिरोमा परेर बृद्धा वेपत्ता भएकी छन् । पहिरोले घर बगाउँदा ७५ वर्षका झोगेन्द्रबहादुर सिंजालीका श्रीमती ७० वर्षकी खगिसरा सिंजाली पुरिएको प्रहरी नायव उपरीक्षक अनिल खड्काले जानकारी दिनुभयो ।
त्यस्तै ढोरपाटन नगरपालिका ५ पाखापानीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले पुरिएर करिव ५५ वर्षका ओमप्रकाश कामीको मृत्यु भएको छ ।
परिवारका अन्य सदस्यलाई भने छिमेकीले सकुशल उद्धार गरेका छन् । पहिरोले आधा दर्जन घरमा क्षति र्पुयाएको छ । बाढीले निशीखोला दोस्रो जलविद्युत आयोजना समेत बगाएको स्थानीयबासीले जानकारी दिएका छन् ।