बनेपा, १७ साउन ।
अवैध कल बाइपास गरेको आरोपमा विभिन्न उपकरणसहित पक्राउ परेका पाँच जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित गोदामचोकबाट पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनीहरुका साथबाट प्रहरीले टिपी लिङकको राउटर, एनटिसीको राउटर, माइक्रो मोडियम युएसपी, युएसपी मोडियम, केभिन होम युएसपी, स्मार्ट सोलार डिप ब्याट्री, स्मार्ट टेलको सिमकार्ड, एचपिको पेन ड्राइभ, एनसेलको सिमकार्ड दुई थान, मल्टिप्लग, ६४ पोर्टको भिओआइपी गेट ओए दुई थान र एसर कम्पनीको ल्यापटप समेत बरामत गरिएको छ ।
पक्राउ पर्नेहरुमा म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरका २९ वर्षीय केशवराज पौडेल, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखर आम्बोटेका २२ वर्षीय विकास लामा, सोही गाउँपालिका–८ सिपाली चिलाउनेका ३२ वर्षीय विनोदकुमार मैनाली, जिल्लाको चौरी देउराली गाउँपालिका–४ निवासी २४ वर्षीय सुजन तामाङ र दोलखाको फूस्कु गाउँपालिकाका २४ वर्षीय अवि थापा रहेका छन् ।
प्रहरी उपरीक्षक सहदेव थापाका अनुसार पक्राउ परेकामध्ये मैनाली विसं २०७० असोज १४ गते त्यही प्रकृतिको मुद्दामा तीन वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् । यसअघि पनौतीमा पनि प्रहरीले अवैध भिओआइपी सञ्चालन गरेका दुईजनालाई पक्राउ गरेको थियो ।
प्रहरी उपरीक्षक थापाले भिओआइपी अपराधमा भारतीय नागरिकको समेत संलग्नता रहेको र भारत हैदरावादका रवितलास शिलाले यस अपराध कर्मको नेतृत्व गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो । कल बाईपासमा सम्लग्न ती भारतीय नागरिक भने फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई दूरसञ्चार ऐन २०५३ को दफा ४७ को ५ बमोजिम बिगो बराबर जरिवाना वा पाँच वर्ष कैद वा दुबै सजाय हुन सक्नेछ ।