चरिकोट, १६ साउन । दोलखाका अधिकांश भू–भागका भूकम्पपीडितको जनजीवन पहिरो र वर्षात्सँगै कष्टकर बनेको छ ।
साउन लागेसँगै दैनिकजसो पर्ने वर्षाले भूकम्पले चिरैचिरा बनेको भू–भागको बस्तीका वासिन्दाको दैनिकी पीडादायी बनेको हो ।
दोलखाको उत्तरी दुर्गम क्षेत्र गौरीशंकर गाउँपालिका–३ मार्बु सिक्पाश्वरकी डम्बरकुमारी श्रेष्ठ अहिले वर्षाका कारण आफ्नो दैनिकी कष्टकर बनेको बताउनुभयो ।
जस्तापाताले छाएको टहरामा बसेको स्थानीयहरुमा बालबच्चा बिरामी पर्ने , रुघाखोकी, ज्वरो, झाडापखाला जस्ता स्वास्थ्य समस्याहरु देखिएका छन् ।
पानीको भल टहराभित्र पस्दा रातभरि जागै बस्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । त्यो सँगै लगातारको बर्षापछि आउनसक्ने पहिरोले पनि स्थानीयवासीलाई थप भयभित भएका छन् ।
उहाँजस्तै दोलखाको कालिञ्चोक गाउँपालिका–६ लापिलाङस्थित दूधपोखरी टोलका सात घरका स्थानीयवासी राताभर जागराम बस्न बाध्य भएको बताउनुहुन्छ । सोहि स्थानका ४७ वर्षीय कृष्णबहादुर बस्नेतले घर छेउमा ठूलो पहिरो गएकोले गाँउ नै लैजान्छ कि भन्ने पिरले सताउने गरेको बताउनु भयो ।
भूकम्पलगत्तै भूगर्भ्विद्हरुले बस्ती स्थानान्तरण गर्नुपर्ने भने पनि सरकारी उदासीनताका कारण कतिपय स्थानीयवासीले पहिरोमा नै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ ।
सरकारले दिएको अनुदानको प्रथम किस्ताबापतको रु ५० हजार रकम स्थानीयवासीले बुझे पनि सुरक्षित र उपयुक्त स्थान नहुँदा घर पुनःनिर्माण गर्न नसकिएको केही स्थानीयवासीको भनाइ छ ।
उपयुक्त स्थानमा जग्गा नहुँदा घर पुनःनिर्माण गर्न नसकिएको र वैकल्पिक व्यवस्था नहुँदा आफूहरुलाई स्थायी आवास निर्माणमा समस्या भएको कालिञ्चोक गाउँपालिका–५ लापिलाङका दिलबहादुर थापाले बताउनु भयो ।
भूकम्पपछि पहिरोको उच्च जोखिममा रहेको भीमेश्वर नगरपालिका–९ कुतकुतेका स्थानीयवासी झनै त्रासदीमय जीवनयापन बिताइरहेका छन् । पहिरोको उच्च जोखिमकै स्थानमा स्थानीयवासी बसोबास गर्दा त्यहाँ चारजनाले ज्यानसमेत गुमाईसकेका छन् ।
अबिरल वर्षाका कारण हाल दोलखाका अधिकांश भू–भागमा कच्ची सडकमा चल्ने सवारीसाधनसमेत चलेका छैनन् । धेरैजसो स्थानमा यातायातका साधन अवरुद्ध छन् । कतिपय स्थानमा विद्यालय टाढा हुँदा मौसम नसुध्रिएसम्म बालबालिका विद्यालय जान बञ्चित छन् ।