काठमाण्डौ १४ साउन ।
११ औँ पटक त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा। गोविन्द केसीका केही समर्थकले रिले अनशन सुरु गरेका छन् । सोलाडरिटी फर डा। केसी एलाइन्सले आज माइतीघर मण्डलादेखि बानेश्वरसम्म केसीको समर्थनमा गरेको प्रदर्शनपछि केही समर्थकले माइतीघरमा नै रिले अनशन सुरु गरेका हुन् ।
केसीका माग पूरा गर्न ध्यानाकर्षण एवं सरकारलाई खबरदारी गर्न भन्दै सरोज खनाल, विधान आचार्य, नवाङ बास्ताकोटी, यज्ञ ढकाल, विक्रम केसीलगायत अनशनमा बसेका हुन् ।
अनशनको पाँचौं दिन शुक्रबार सरकारी वार्ता टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीच करिब तीन घण्टा लामो वार्ता निष्कर्षविहीन बन्यो । सबै सुझावसहित संसद्बाट चिकित्सा शिक्षा ऐन पारित हुनुपर्ने मागमा सहमति हुन नसकेको हो । ऐन पारित गर्ने विषय संसद्को अधिकार क्षेत्र रहेको सरकारी पक्षको जिकिरपछि दुवै पक्ष पुन: थप गृहकार्यसहित शनिबार दोस्रो चरणको वार्ता गर्ने सहमतिमा पुगेका थिए ।
माथेमा प्रतिवेदनअनुसार आफूहरूले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन संसद्बाट पारित हुनुपर्ने डा. केसीको ११ औं अनशनको मुख्य माग रहेको छ । केसी अनशनमा बसेको शनिबार छैटौं दिन हो ।