काठमाडौ, १४ साउन ।
सातौं अन्तर्राष्ट्रिय बाघ दिवस, नेपाल पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदै छ । दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज कार्यक्रमको आयोजना गरेको छ ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले हरेक जुलाई २९ लाई अन्तर्रा्ष्ट्रिय बाघ दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।
सम्मेलनले सन् २०२० सम्ममा विश्वमा बाघको संख्या दोब्बर र्पुयाउने लक्ष्य पनि निर्धारण गरेको थियो । विश्वमा अहिले झण्डै साढे तीन हजारको हाराहारीमा बाघ रहेका छन् ।
संरक्षण अभियान, बासस्थान तथा आहाराको व्यवस्थापन लगायत कारण नेपालमा पछिल्लो समय बाघको संख्या केही बढ्दै गएको देखिएको छ ।
चार वर्षअघि सन् २०१३ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रमा ७ निकुञ्ज बाँके र आसपासका मध्यवर्ती क्षेत्रमा ४ गरी नेपालमा बाघको संख्या १ सय ९८ पुगेको थियो ।
त्यसअघि सन् २००९ को गणनामा बाघको संख्या १ सय २१ थियो । नेपालमा हरेक चार वर्षमा बाघ गणना हुने गर्दछ । यो वर्ष बाघको गणना गर्ने तयारी रहेको वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
नेपालमा सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० र्पुयाउने लक्ष्य अनुसार संरक्षणको काम भैरहेको सरकारले जनाएको छ ।
तर बाघ बासस्थान कृषि भूमिमा परिणत हुनुले निकुञ्ज र आरक्ष उनीहरुका लागि साँघुरो हुँदा क्षेत्रबाहिर विचरण गर्न थालेका छन् ।
विश्वका १३ वटा देशमा बाघ संरक्षणका काम भैरहेका छन् । दक्षिण एसियाका नेपाल, भारत, भुटान, बंगलादेश र चीनमा बाघ पाइन्छ ।