झापा, श्रावण १३, ।
इलामको चुलाचुली २ स्थित चाँजु खोलाको बीचमा बनाइएको झोलुंगे पुल निर्माण सम्पन्न भएको पुल दुई महिना नबित्दै भत्किएको छ ।
गत बैशाख अन्तिम साता निर्माण सम्पन्न भएको उद्घाटन नहुँदै भत्किएपछि स्थानीय चिन्तित र आक्रोसित बनेका छन् ।
सानाठूला गरी करिब एक दर्जन खोला रहेको उक्त क्षेत्रमा चाँजु खोलामा पुल बनेपछि राहत महसुस गरेका स्थानीय औपचारिक रुपमा पुल सञ्चालन अगावै भत्किदा उनीहरु आक्रोसित बनेका हुन् ।
पुल नहुँदा वर्षौदेखि चुलाचुलीबासीको यात्रा कष्टकर र जोखिमपूर्ण बन्दै आएको छ ।
सरकारी पक्षको लापरबाहीले चुलाचुलीबासीले पुल पाएर पनि गुमाउनु परेको चुलाचुलीका चेतन आंथुपोले बताउनुभयो ।
चाँजु खोलामा २ सय ४ मीटर लम्बाईको झोलुंगे पुल निर्माण भएको थियो । झोलुंगे पुल महाशाखा काठमाडौंको ७० लाख बजेटमा पुल बनेको पुल रेखदेख समिति अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो ।
उहाँले पुलको पिल्लर ३ फिटसम्म मात्र गाडिएकाले पूर्व पट्टीको एउटा पिल्लर भाँसिएको बताउनुभयो । पुल भत्किएपछि उद्घाटन गर्ने कि नगर्ने भन्ने दोधार बढेको छ ।