१३ असार,काठमाडौं । धौलागिरी कालिका हाइड्रो लिमिटेडविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारजन्य उजुरी परेको छ ।
हाइड्रोका संचालहरुले शेयरधनीहरुको लगत कायमै नगरी बिक्री गरेर भ्रष्टाचार गरेको भन्दै छानबिन गरी कारवाही गर्न मुद्दा दर्ता गरिएको हो । विद्युत विकास विभागबाट २५ मेगावाट बिजुली उत्पादन गर्न म्याग्दीको दरवाङ खोलामा बिजुली उत्पादन गर्न अनुमति पाएको यो हाइड्रो लि.का अध्यक्ष प्रमोद श्रेष्ठ हुन् । संस्थापक अध्यक्ष दिनुप्रताप पाण्डे थिए ।
यो हाइड्रोको लागत ५ अर्ब रहेको छ । २०७५ सालभित्र उत्पादन कार्य सम्पन्न गर्नुपर्ने समयसीमा कम्पनीको छ । तर अहिलेसम्म वित्तीय व्यवस्थापन गर्न सकेको छैन । यसैबीच विनोद कुँवरले संस्थापक अध्यक्ष पाण्डेको ११ करोड रुपैयाँको शेयर खरिद गरेको देखाइएको छ । तर कारोबार प्रणालीबारे थाहा दिइएको छैन । कुँवर नेपाली नागरिकता त्यागेका दक्षिण कोरियाका नागरिक हुन् । विदेशी नागरिकसँग कारोबार गर्दा बैंकिङ कारोबारमा गर्न पाइने कानूनी प्रावधानलाई समेत कम्पनीले पालना नगरेर भ्रष्टाचारजन्य कसुर गरेको उजुरीमा उल्लेख छ ।
लगानीकर्ताको शेयर कम्पनी रजिष्ट्रारको कार्यालयमा हुनुपर्नेमा अझै भएको छैन । विद्युत माफिया विनोद कुवँरसहितको टोलीको योजनामा कब्जा गर्ने उद्देश्यले अध्यक्ष श्रेष्ठले खरिद बिक्री गर्दा बैंकिङ खातामार्फत गर्नुपर्नेमा सो नगरिएको र स्थानीयसँग करोडौं रुपैयाँ रकम उठाएर शेयर लगत कायम नगरी भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न आयोगमा उजुरी परेको हो ।
२०७३ चैत्र ११ गते दर्ता भएको उजुरी द.नं. ५६३६ रहेको छ । त्यस्तै भ्रष्टाचारजन्य कसुरमा दरवाङका स्थानीय लगानीकर्ताका तर्फबाट २०७३ चैत्र ४ गते आयोगमा १६३७८ नम्बरमा अर्को उजुरी दर्ता भएको छ । तोकिएको समय गुज्रिदासमेत वित्तीय व्यवस्थापन गर्न नसकेको र काम शुरु नगरेको अवस्थामा उक्त हाइड्रोको इजाजतपत्र विद्युत विकास विभागले नविकरण गरेको भन्दै विभागका अधिकारीमाथि छानबिन गरी दोषीलाई कारवाही गर्न उजुरीमा माग गरिएको छ । साथै शेयर दिने लोभ देखाई शेयरक कायम नगराई ठगी गर्ने भ्रष्टाचार गर्ने हाइड्रोका संचालकहरुलाई छानिबन गरी कारवाही गर्न मा गरिएको छ ।
लिमिटेडका संचालकहरु प्रमोद श्रेष्ठ, नारायणबाबु अधिकारी कुवँरलगायत दर्जन संख्यामा रहेका छन् । कम्पनी संचालक तथा अध्यक्ष बसेर सर्वसाधारणसँग आर्थिक रकम उठाएर हिनामिना गरेको भन्दै ठगीको आरोपमा प्रमोद श्रेष्ठविरुद्ध महानगरीय अपराध महाशाखा टेकुमा मुद्दा चलिरहेको छ । श्रेष्ठ, अधिकारी र कुँवरको योजनामा कम्पनी प्रा.लि. छँदै स्थानीय र विभिन्न व्यक्तिसँग करोडौं रुपैयाँ उठाइएको तथ्य अनलाइ डबलीसँग सुरक्षित छ । प्रा.लि.ले शेयरको नाममा रकम उठाउन कानूनी बन्देज छ ।
यस हाइड्रो कम्पनीविरुद्धको दर्ता भएको उजुरीमाथि आवश्यक छानबिन भइरहेको अख्तियार अनुसन्धान आयोग स्रोतले बतायो ।