काठमाडौ, ९ साउन ।
चितवनको भरतपूर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्बोच्च अदालतमा दायर रिटमाथि आजपनि सुनुवाई जारी छ ।
न्यायाधिशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा जारी सुनुवाईमा अहिले विपक्षीका तर्फबाट बहस भईरहेको छ ।
मध्यान्ह १२ बजे निवेदकका तर्फबाट बहस सकिएपछि अहिले विपक्षीका तर्फबाट बहस सुरु भएको हो । विपक्षीका तर्फबाट अहिले उपन्यायधिवत्ता घनस्याम ओझा र सहन्यायधिवत्ता सन्जिवराज रेग्मीले बहस गरिरहनुभएको छ ।
सुनुवाईका क्रममा निवेदकका पक्षबाट आज वरिष्ठ अधिवत्ता रामप्रसाद श्रेष्ठ , कृष्ण प्रसाद भण्डारी र अधिवत्ता कृष्णप्रसाद निरालाले बहस गर्नुभएको थियो ।
यसअघि हिजो वरिष्ठ अधिवक्त रविनारायण खनाल, अधिवक्तहरु खिमलाल देवकोटा, हरि उप्रेती, बाबुराम दाहाल, हरि फुयाल, चन्द्रकान्त ज्ञवाली, गोविन्द मैनाली लगायतले बहस गरेका थिए ।
सो क्रममा उहाँहरुले निर्वाचन आयोगले तयार पारेको प्रतिवेदनमा त्रुटी रहेको तथा वडा नम्बर १९ मा च्यातिएका मतपत्र बदर गरी पुनः मतगणना सुचारु गर्नुपर्ने तर्क राख्नु भएको थियो ।
वडा नम्बर १९ को मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधले मतपत्र च्यातिएपछि स्थगित मतगणना सम्बन्धमा आवश्यक अनुसन्धान र प्राप्त विवरणका आधारमा निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
त्यसपछि निर्वाचन आयोगको निर्णय विरुद्ध भरतपूर महानगरपालिका वडा नम्बर १९ का एमालेका वडासदस्य उमेदवार गुन्जामान विक र अधिवक्त तुलसीराम पाण्डेले च्यातिएका मत बदर गरी बाँकी मतगणना गर्न माग गर्दै गत जेठ १९ गते सर्बोच्चमा रिट दायर गरेका थिए ।