साउन ८ काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब देश कार्यकारी राष्ट्रपति प्रणालीमा जानु पर्ने धारणा राख्नु भएको छ ।
पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधामन्त्री समेत रहेका प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले देश गुण्डा र तस्करहरुको हातमा पुग्ने खतरा देखिएको भन्दै कार्यकारी राष्ट्रपति तथा अन्यमा समानुपातिक प्रणालीमा जानु पर्नेमा जोड दिनु भयो ।
‘पहिले दलित, गरिव तथा पीछडिएका वर्गले चुनाव लड्ने अवस्था थिएन । अहिले आएर मध्यम वर्गले पनि चुनाव लड्ने अवस्था भएन,’ प्रचण्डले भने, ‘अब त पैसा खर्च गर्नेले मात्र चुनाव जित्ने देखियो । यस्तै हो भने देश गुण्डा तस्करको हातमा जाने खतरा छ । अब कार्यकारी राष्ट्रपति प्रणालीको विकल्प छैन ।’ दाहालले भन्नु भयो । यस अघि देखि नै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशमा दलाल तन्त्र हावी भएको भन्दै त्यस विरुद्ध एकीकृत जनक्रान्ति गर्नु पर्ने बताउदै आएको थियो ।
माओवादी अध्यक्षले पहिलो संविधानसभापछि कार्यकारी प्रणालीमा जान नेपाली काङ्ग्रेस र नेकपा एमाले दुवै सहमत भएपनि दोस्रो संविधानसभामा आफूहरु विजयी भएपछि त्यसबाट पछि हटेको दाबी गर्नु भयो । ‘पहिले राष्ट्रपतिमा प्रचण्डले जित्ने भन्ने उनीहरुलाई डर थियो । अब त त्यो सम्भावना अहिलेलाई छैन । जित्ने उनीहरुले नै हुन,’ उनको भनाई थियो, ‘अब त काङ्ग्रेस–एमाले पनि मान्लान् कि ?’
यदी सहमतिमा नआए दबाब तथा आन्दोलनका कार्यक्रमहरु शुरु गर्ने चेतावनी प्रचण्डले दिए । शहरका टाठा बाठाले भोट नदिएकोमा आश्चर्य प्रकट गर्दै गाउले माया गरेको बताउनु भयो ।