साउन ६ काठमाण्डौं । सविधान संशोधन र स्थानीय तह निर्वाचनमा सहभागिताको बिषयमा आवश्यक निर्णय लिन राष्ट्रिय जनता पार्टी नेपालले पदाधिकारी र केन्द्रीय समिति बैठक बोलाएको छ ।
निर्वाचन आयोगबाट दलको औपचारिक मान्यता पाएको राजपा नेपालले तेस्रो चरणको स्थानीय तह निर्वाचन र वर्तमान समसामयिक राजनीतिक अवस्थाका बिषयमा निर्णय लिन बैठक बोलाएको छ ।
राजधानीको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको अध्यक्ष मण्डलको बैठकले पदाधिकारी बैठक श्रावण १८ देखि २० गतेसम्म गर्ने निर्णय गरेको हो ।
त्यस्तै केन्द्रीय कार्यसमिति बैठक श्रावण २१ गतेका लागि बोलाईएको छ । कार्यसमिति बैठकमा जनवर्गिय संगठनका केन्द्रीय अध्यक्ष र जिल्लाका अध्यक्ष मण्डललाई निमन्त्रणा गरिएको बैठकपछि राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधान संशोधनलाई वटमलाईन बनाउदै स्थानीय तहको चुनाव वहिष्कार गर्दै आएको राजपाभित्र तेस्रो चरणको निर्वाचनमा सहभागि हुनुपर्ने दबाब बढ्दो छ । तत्काल संविधान संशोधन पारित हुने सम्भवना नदेखिएपछि राजपाले आवश्यक निर्णय लिन केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ ।