काठमाडौं, ६ साउन ।
राष्ट्रिय प्रजातन्त्र पाटीले सरकारले संविधान संसोधन विधेयक संसदमा मतदान प्रक्रियामा गए पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
राजधानीमा ३ दिन चलेको राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले संसोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
यसअघि संसोधन विधेयक संसदमा पारितको प्रक्रियामा अघि बढाउने तयारी गर्दा राप्रपाका १० जना सांसद अनुपस्थित भएको घटनालाई समिक्षा गर्दै यो पटक सबै सांसदको समान धारणा बनाउने जिम्मा केन्द्रीय कार्यसम्पादन समितिलाई दिइएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।
सरकारमा सहभागी हुने विषयमा भने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपप्रधान सहित चार वटा मन्त्रालय दिने आश्वासन दिएकाले कार्यसम्पादन समितिको बैठक बसेर निर्णय गर्ने थापाले बताउनुभयो ।
संविधान संशोधनको पक्षमा सांसदहरु एकमत नभएको भन्दै सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले राप्रपालाई तत्काल सरकारमा सहभागी नगराउने निश्कर्ष निकालेका थिए ।
यस्तै राप्रपाले आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ ।
निर्वाचन आयोगले दल नै नभएको चुनाव चिन्ह हल गोरु मतपत्रमा राखेर आफुहरुको चुनाव चिन्हमा मतदाता झुक्किएको निष्कर्ष सहित राप्रपाले सो चिन्ह मतपत्रबाट हटाउन निर्वाचन आयोगसँग माग समेत गरेको छ ।
राजतन्त्र सहितको लोकतन्त्र हुनुपर्ने माग सहित राप्रपाले संविधान संसोधन विधेयक अघि बढाउने निर्णय पनि गरेको छ । पार्टीको संगठन विस्तारका लागि हरेक क्षेत्रमा राप्रपा, हरेक वडामा राप्रपा भन्ने नारा अघि बढाउने निर्णय गरिएको पनि अध्यक्ष थापाले बताउनुभयो ।