काठमाडौं, साउन ५ ।
पहिलो र दोस्रो चरणमा टिकट वितरणका क्रममा भएको त्रुटिका कारण पार्टी दोस्रो स्थानमा खुम्चिएको निश्कर्ष निकाल्दै नेपाली कांग्रेसले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचन आफ्नो पक्षमा पार्न रणनीतिक योजना बनाउने भएको छ ।
कांग्रेसले आज राजधानीमा प्रदेश नम्बर–२ को पार्टीको भेला गर्दै कांग्रेसको जित सुनिश्चित गर्न रणनीनिकरुपमा अगाडि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको हो ।
निर्वाचन आयोगले तस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेकै दिन कांग्रेसले आयोजना गरेको भेलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावजस्तो चुनौतीपूर्ण कामलाई सफल बनाएर संविधान कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउनु भयो ।
हार–जितभन्दा पनि मुलुकको समस्या समाधान गर्न सकेकोमा कांग्रेसले गौरव गर्नुपर्ने उहाँको भनाई छ ।
‘स्थानीय तह निर्वाचनमा कांग्रेसलाई हराउने अरु कोही नभएर कांग्रेसी नै’ भएको भन्दै सभापति देउवाले पार्टी्भित्र अन्तर्घात गर्नेलाई अनुशासन समिति बनाएर कारबाही गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।
सभापति देउवाले प्रदेश नम्बर–२ को निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी पनि गर्नुभयो ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय जनता पार्टी नेपालको मात्र नभइ समग्र मधेसका समस्या समाधान गर्न प्रयासरत् रहेको बताउनु भयो ।
कांग्रेसको सबै शक्ति प्रदेश नम्बर–२ को चुनावमा केन्द्रित गर्नुपर्ने भन्दै उहाँले जनताको मन जित्ने काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
यस्तै, कांग्रेस महामन्त्री डा. शशांक कोइराला र नेता कृष्णप्रसाद सिटौलाले गुटबन्दीका कारण पार्टीले पराजय भोग्नुपरेको स्मरण गर्दै गुटबन्दी अन्त्य गर्न निर्देशन दिनुभयो ।
भेलाले प्रदेश नम्बर–२ मा हुने स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट साउनभित्रै गरिसक्ने र भदौमा प्रचार–प्रसारमा लाग्ने निर्णय गरेको छ ।
भेलामा आफ्नो धारणा राख्दै जिल्ला तथा क्षेत्रीय सभापतिहरुले टिकट वितरणका क्रममा आफ्नालाई भन्दा जित्ने सम्भावना बोकेका व्यक्ति छनौट गर्न सुझाउँदै पहिलो र दोस्रो चरणमा भएको गल्ती नदोर्होयाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
यसैबीच कांग्रेसले केन्द्रीय समितिको बैठक २ दिन अघि सारेको छ । यसअघि साउन ९ गते बस्ने भनिएको बैठक २ दिन अघि सारेर साउन ७ गतेलाई निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक ७ गते बिहान ८ बजेलाई निर्धारण गरिएको जानकारी दिनुभयो ।