काठमाडौं, असार ३१ ।
नेपाली कांग्रेसका नेताले छुटेका मतदाताको नामावली संकलनको समय एक महिना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेर केन्द्रीय सदस्य बालकृष्ण खाँड नेतृत्वको टोलीले नामावली संकलनको समयावधी १५ दिनबाट एक महिना बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको हो ।
निर्वाचन आयोगका पदाधिकारीलाई भेटेको एक दिनपछि कांग्रेस नेताले आज नामावली संकलनको समयावधि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि भन्दै आयोगले भोलीदेखि १५ दिन सम्बन्धित जिल्ला सदरमुकाममा मतदाता नामावली संकलनको कार्य थाल्दैछ ।
अहिले खेती गर्ने समय भएकाले १५ दिनको समय अपुग रहेको भन्दै कांग्रेस नेताले एक महिना समय निर्धारण गर्दै ७ सय ४४ वटै स्थानीय तहबाट नामावली संकलनको ब्यवस्था मिलाउन टोलीले प्रधानमन्त्री देउवासँग आग्रह गरेको छ ।
जिल्ला सदरमुकाम केन्द्रित मतदाता नामावली संकलनलाई कम्तीमा स्थानीय तहको केन्द्रसम्म र्पुयाउन माग गरेको नेता खाँडले जानकारी दिनुभयो ।
नेताहरुले विदेशमा रहेका नेपालीले निर्वाचनमा सहभागी हुन सक्ने गरी त्यहाँस्थित नेपाली दुतावासबाट मतदाता नामावली संकलनको व्यवस्था मिलाउन पनि आग्रह गरेका थिए ।
जवाफमा प्रधानमन्त्री देउवाले सम्बन्धित निकायसँग छलफल गरेर आवश्यक कदम चाल्ने बताउनुभएको नेता रामहरी खतिवडाले जानकारी दिनुभयो । कांग्रेस नेताले हिजोमात्र नामावली संकलनको विषयमा निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएका थिए ।