काठमाडौ २९ असार ।
चितवनको कालिखोला नजिकै पहिरो खसेपछि अवरुद्ध मुग्लिन नारायणगढ सडकखण्ड सुचारु भएको छ । कालीखोलाको चारकिलो र सेती दोभानमा खसेको पहिरो पन्छाएपछि अवरुद्ध सडक सुचारु भएको चितवन प्रहरीले जनाएको छ ।
हिजो दिउँसो साढे तीन बजे उक्त स्थानमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । सडक सुचारु भएसँगै हिजो दिउँसोबाट रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । सडक खुलेसँगै उक्त सडकखण्डमा सवारी चाप अत्याधिक रहेको मध्यक्षेत्रिय टाफिक प्रहरीले जानकारी दिएको छ ।
यसअघि गएराति ८ बजे एकतर्फी बाटो खुलाएर बीच सडकमा अड्किएर जोखिममा परेका झण्डै ३ सय गाडी कटाएपछि पहिरो पन्छाउने काम राति रोकेर आज बिहान ४ बजेदेखि पुनः सुरु गरिएको थियो ।
नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सडकको झण्डै ४० मिटर लामो भाग पहिरोले पुरिएको थियो । दुई वटा लोडर र एक एक्साभेटरले पहिरो पन्छाएपछि सडक खुलेको हो । गएको वर्ष पहिरो खसेकै ठाउँमा यस वर्ष पनि पहिरो खसेको खनालले बताउनुभयो ।
सडक विस्तारका क्रममा भित्तो काटिएका ठाउँमा पहिरो खस्ने क्रम बढेपछि सडक रातिको समयमा बन्द गरिएको छ । पहिरोका कारण मुग्लिन नारायणगढ सडकखण्ड पटक पटक अवरुद्ध हुदै आएको छ ।
जेठ यता करिब एक महिनाको अवाधिमा उक्त सडकखण्ड १ सय ३८ पटक अवरुद्ध भइसकेको छ । मुग्लिन नारायणगढ सडकखण्डमा चार किलो, साढे दुई किलो, घुमाउने, केराबारी, १६ किलो लगायतका २९ ठाउँलाई उच्च जोखिम युक्तको सूचिमा राखिएको छ ।