विराटनगर, असार २९ । विराटनगर महानगरपालिकाको मुनालपथमा एकाविहानै गोलि हानि लुटपाट भएको छ । उदयपुरको चौदण्डीगढि नगरपालिकाको बेल्टार बस्ने चिनादेवी बिष्टको झोला लुटेराहरुले विहान करिब सवा ५ बजे नै लुटेका छन् ।
मोटरसाईकलमा आएका दुई अपरिचित व्यक्तिले प्रहार गरेको गोलिका छर्रा लागेर बिष्ट घाइते भएकी छन् । खुट्टामा छर्रा लागेकी उनको विराटनगर अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार मधेसीमुलका दुईजनाले मोटरसाईकल रोकेर नम्बरप्टेलमा हिलो दलेर लुटपाट गरि भागेका थिए ।
उनीहरुले चलाएको बन्दुकको आवाज भने निकै ठूलो सुनिएको प्रत्यक्षदर्शीको भनाई छ । भाईको पत्थरीको अप्रेसन भएकाले हेर्न बुधबार विराटनगर आएकी विष्ट विहानै घर फर्किनका लागि गाडि चढ्न जाँदैगर्दा घटना भएको हो ।‘पहिले त ब्याग तानातान भयो , अनुहारमा बन्दुक तेर्साएपछि ब्याग छाडे,’ पिडित घाइते बिष्टले भनिन्,‘ब्यागमा ११ हजार रुपैयाँ र केही सामान थिए ।’
घटनापछि आइपुगेको प्रहरी टोलीले घाइते विष्टलाई उपचारका लागि विराटनगर अस्पताल पुर्याएको हो । कोशी राजमार्गमा नै एकाविहानै भएको यस्तो घटनाले स्थानीय त्रसिद भएका छन् । विहानैदेखि ‘मर्निङ वाक’ गर्नेदेखि लिएर सवारीसाधनको चहलपहल हुने स्थानमा भएको घटनाले नगरवासीमा त्रास फैलिएको मनोज महतोले बताए । प्रहरीले भने घटनामा संलग्नहरुको खोजि भइरहेको जनाएको छ ।