काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद् अर्थसमितिका सभापति प्रकाश ज्वालाले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित गर्न कामदारमैत्री नियम बनाउनपर्नेमा जोड दिनुभएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा उहाँले सम्झौताअनुसार कार्य नगर्ने स्वदेशी मेनपावर तथा विदेशी रोजगारदाता कम्पनीलाई कालोसूचीमा राख्नुपर्ने बताउनुभयो ।
नेकपा (एमाले) का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका सभापति ज्वालाले कामदार तथा व्यवसायीबीच पारस्परिक सम्बन्ध, सहयोग तथा एकता कायम गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आसन्न निर्वाचनमा वामपन्थी तालमेलले नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो ।
नेपाल प्रगतीशील वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले मुलुकमा कूल गार्हस्थ्य उत्पादनको करिब ३१ प्रतिशत र गरिबी निवारणमा ४१ प्रतिशत विप्रेषणको योगदान रहेको जानकारी दिनुभयो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष रामप्रसाद भन्तनाले संशोधनको प्रक्रियामा रहेका वैदेशिक रोजगार ऐन–२०६४ को प्रस्तावित मस्यौदालाई पूर्णरुप दिनुपर्नेमा जोड दिनुभयो ।