काठमाण्डौ, असार २६ ।
करिब २ करोड ठगी गरेको आरोपमा पक्राउ परेका नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहलाई १५ दिन थुनामा राख्न आदेश दिएको छ ।
१ करोड ९७ लाख रुपैयाँ उठाएर फरार भएको भन्दै उजुरी परेपछि महानगरीय अपराध महाशाखाले बुधबार शाहसहित चार जनालाई पक्राउ गरेको हो । जापान र अमेरिका पठाइदिन्छौं भनेर ठगेको उजुरी परेपछि पक्राउ गरिएको एसएसपी प्रकाशजंग कार्कीले जानकारी दिनुभयो ।
जापान जान १० लाख र अमेरिका जान २० लाख लाग्ने भन्दै शाहले पैसा उठाएको भन्दै प्रहरीमा उजुरी परेको छ । अहिलेसम्म १ करोड ९७ लाख ठगी भएको उजुरी परेको छ तर, अरु पनि हुनसक्ने प्रहरीको आशंका छ ।
ठगी भएका अधिकांश युवायुवती सल्यानका छन् । र, ऋषिकेश जंग शाह पक्राउ परेको खबर पाएपछि उनीहरु अहिले पनि दैनिकजसो महानगरीय प्रहरी अपराध महाशाखामा धाउने परेका छन् । नेविसंघ पूर्वउपाध्यक्ष शाह पनि सल्यानकै हुन् ।