काठमाडौं ,२६ असार । कांग्रेसभित्रको भागबन्डा नमिलेको विषयमा मिडियामा समाचार आए पनि सरकारमा कसलाई कसरी पठाउने भन्ने विषयमा पार्टीमा छलफल नै नभएको पौडेल पक्षका नेता डा. रामशरण महतको भनाइ छ । ‘मिडियामा भागबन्डा भनेर आउँछ, तर यस्तो होइन, अरू पार्टीसँग पावर सेयरिङबारे के कुरा हुँदै छ भन्नेबारेमा सभापतिले छलफल नै गर्नुभएको छैन,’ महतले भने, ‘मन्त्रीमा कुन व्यक्तिलाई कहाँ पठाउने र अरू नीतिगत विषयमा के हुने भन्नेबारेमा केही छलफल भएको छैन । संख्यामा कुरो भएकै छैन । उपयुक्त मान्छे सरकारमा जानुपर्छ भन्नेमा छौँ, तर उपयुक्त छलफल नहुँदा समस्या भएको हो ।’
प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले एकलौटी गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट छ । ‘आज, भोलि भन्दै गर्दा सरकार विस्तार एक महिना धकेलिसकियो । प्रधानमन्त्री एवं सभापतिको शैली हामीलाई पनि चित्त बुझेको छैन,’ पौडेलनिकट एक नेताले नयाँ पत्रिकासित भने, ‘सरकार जसरी चलाइएको छ । यसमा हामीलाई चित्त बुझेको छैन ।
सरकार विस्तारमा भइरहेको ढिलाइप्रति हाम्रो असन्तुष्टि छ । एकलौटी शैलीले काम गर्ने तथा सीमित घेरामा रमाउने उहाँको स्वभावले हामी हैरानीमा छौँ ।’ तत्कालै सरकार विस्तार नहुने जानकारी देउवाले नेता पौडेललाई दिइसकेका छन् । आफ्नो पक्षका भेलामा पौडेलले नेताहरूलाई यस्तो जानकारी गराएका थिए ।
‘रामचन्द्र दाइसँगको छलफलमा सभापतिले अलि पछि सरकार विस्तार गर्छु भन्नुभएको रहेछ,’ महतले भने, ‘संविधान संशोधनको विषय पनि छ, अरू दलसँग पावर सेयरिङ गरेपछि साउन लागेपछि मात्रै सरकार विस्तार गर्ने बताउनुभएको जानकारी पाएका छौँ ।’
पौडेल पक्षमा पनि संशोधनलाई प्राथमिकता
तर, पौडेल पक्षले पनि संविधान संशोधनको विषयलाई प्राथमिकता दिएको छ । चुनावी समीक्षा तथा सरकार गठनका विषयमा छलफल गर्न बसेको पौडेल पक्षधर नेताको बैठकमा कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले संविधान संशोधनको एजेन्डा मधेसी मोर्चाको मात्रै नभएकाले कांग्रेस पनि जिम्मेवार हुनुपर्ने धारणा राखेकी थिइन् । ‘संविधान संशोधन अपरिहार्य हो । संशोधन नभई सरकार विस्तार गर्दा राम्रो छाप जाँदैन । किनकि संविधान संशोधन र स्थानीय तहको निर्वाचन गराउनका लागि नै यो सरकार बनेको हो,’ यादवको भनाइ थियो, ‘संविधान संशोधन राजपाको मात्र चाहना होइन, मधेसी जनताको चाहना हो ।
कांग्रेसको आधार नै तराई मधेस हो । मधेसलाई कांग्रेस र कांग्रेसलाई मधेस नभई हुँदैन । यस्तोमा संशोधनलाई पहिले टुंग्याउन पहल गरौँ ।’ डा। शेखर कोइराला, आनन्दप्रसाद ढुंगानासहितका पौडेल पक्षका नेता पनि संविधान संशोधन छिटो गर्नुपर्ने पक्षमा छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।