दोस्रो तहको स्थानीय निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुदै गर्दा विराटनगर महानगरपालिकाको पहिलो मेयरमा निर्वाचित हुने व्यक्ति हुन् भीम पराजुली । विराटनगर महानगरपालिकाको वडा नम्बर तीन घर भएका भीम पराजु्ली आमा तुलसा र बुवा तुलसीराम पराजुलीका कान्छा छोरा हुन् ।
५ भाई छोरा मध्येका कान्छा भीम २०३१ साल चैत २० गते बुधबारका दिन जन्मिएका थिए । उनका दुई सन्तान र श्रीमति छन् । श्रीमती रञ्जिता खनाल हाम्रो कलेज अफ नर्सिङमा अध्यापन गराउँछिन् । जुन कलेजमा मेयरमा निर्वाचित पराजुलीको समेत हिस्सा छ । उनका ६ वर्षीय छोरा र ९ महिनाकी छोरी छन् ।
घर नजिकै रहेको पोखरीया स्कुलबाट औपचारीक शिक्षा प्रारम्भ गरेका पराजुलीलले सो विद्यालयबाट निमावि सम्मको अध्ययन पूरा गरे । त्यसपछि भने जनता माविमा अध्ययनका लागि भर्ना भएका पराजुलीले सोही विद्यालयबाट २०४८ मा एसएलसी उत्तिर्ण गरे । उनले उच्च शिक्षा भने विराटनगरकै महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसबाट गरे ।पराजुलीले व्यवस्थापन संकायबाट स्नातक गरेका छन् ।
विभिन्न सामाजिक तथा धार्मीक गतिविधिमा आफूलाई सक्रिय राख्ने पराजुली विभिन्न समयमा गर्ने कृयाकलापबाट चर्चित बन्दै आएका छन् । तराईमा भव्यताका साथ मनाइने छठ पर्वमा साष्टाङ्ग दण्डवत ( सुतेर प्रणाम ) गरेर घरदेखि जलायस किनार पुग्ने गरेका छन् । यस्तै धार्मीक अनुष्ठानहरुमा सक्रियउ सहभागिता जनाउँदै आएका छन् ।
यस्तै अन्य विभिन्न सामाजिक कामका लागि समय निकाल्ने पराजुली दैनिक विहान पूजापाठ र जपध्यानमा बस्ने यूवा नेताका रुपमा चिनिन्छन् । हरेक नयाँ कामको थालनी गर्दा या महत्वपूर्ण निर्णय लिँदा ज्योतिष हेराएर मात्र निर्णय लिने पराजुली कर्म र भाग्यको संयोजनबाट मात्रै सफलता मिल्ने तर्क गर्छन् ।
यस्ताे छ पराजुलीको राजनितिक यात्रा !
विद्यालयदेखि नै प्रजातन्त्रप्रति चासो राख्ने पराजुलीले सोही बेलादेखि नेविसंघमा आवद्ध भई स्कुलस्तरीय समितिमा काम गरे । नेविसंघको वार्ड इकाई सभापति हुँदै महेन्द्र मोरंग क्याम्पसमा राजनितिमा सक्रिय भएका उनले त्यहाँ ईकाई सदस्य, सचिव उपसभापति र इका सभापति भएर नेविसंघमा काम गरेका थिए ।
ईकाइसँगै स्ववियूको राजनितिमा प्रवेश गरेका पराजुली २०५५ सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियू सदस्य भए । २०५७ सालमा पराजुली कोषाध्यक्ष बने भने २०५९ मा सचिव बने । लगातार तीन कार्यकाल स्ववियूको राजनितिमा निर्वाचित हुँदै आएका पराजुलीलाई स्ववियू सभापति हुनका लागि पार्टीले टिकट दिएन । अन्ततः २०६१ सालमा भएको स्ववियू निर्वाचनमा उनले नेविसंघकै बाघि उम्मेदवारको रुपमा स्वतन्त्रको हैसियतबाट चुनाव लडे र परिणाम आफ्नै प्रक्षमा पारे । तात्कालिन समयमा पार्टीले रामनरेश यादवलाई आधिकारीक उमेदवारको रुपमा अघि सारेको थियो ।
लगातारको जीत हात पार्दै अघि बढेका पराजुली त्यसपछि भने विद्यार्थी राजनितीबाट माउ पार्टीको राजनितिमा प्रवेश गरे । २०६७ सालमा पार्टीको तर्फबाट विराटनगरको नगरसभापतिमा निर्वाचित भए । नगरसभापति हुँदा समेत पार्टीभित्रका यूवापुस्तासँग निकट सम्बन्ध बनाउन सफल पराजुली विराटनगरको दोस्रो पटक पनि सभापति बन्न सफल भए ।नगरसभापति भएको दोस्रो कार्यकालकै बेलामा उनले आधादर्जन भन्दा बढी आंकाक्षीलाई पन्छाउँदै मेयरको टिकट मात्र पाएनन्, विराटनगर महानगरपालिकाको पहिलो मेयर पनि बने ।
उनलाई विराटनगरको टिकट दिलाउन भने कोइराला परिवारको योगदान उल्लेख्य रह्यो । विशेषगरि पार्टीभित्र डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र सुजता कोइरालाको तिब्र लबिङ र दवावका कारण पराजुलीले टिकट पाएको पार्टी स्रोतको दावी छ ।