काठमाडौ २४ असार ।
सरकारले व्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन विधेयक पारितका लागि सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आग्रह गरेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान बसेको बैठकमा सरकारले संविधान संशोधनका लागि राप्रपालाई लचक हुन आग्रह गरेको हो ।
संविधान संशोधन गरेर राष्ट्रिय जनता पार्टीलाई पनि निर्वाचनमा सहभागि गराउने सरकारको निर्णयका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई जानकारी गराउनु भएको थियो ।
निर्वाचनबाट कसैलाई पनि बाहिर नराखि सहभागी गराउन सरकार प्रयासरत रहेको भन्दै देउवाले राजपालाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण बनाउने सरकारको प्रयासमा सहयोग गर्न राप्रपालाई आग्रह गर्नुभएको थियो ।
बैठकपछि राप्रपाका अध्यक्ष कमल थापाले संविधान संशोधनबारे पाटीभित्र छलफल गरेर अघि बढ्ने जानकारी दिनुभयो । बैठकमा सरकार विस्तार लगायतका विषयमा पनि सामान्य छलफल भएको बताइएको छ ।