कन्चनपुर ,२२ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अन्तर्घात गरेर कांग्रेसलाई हराउन सफल भएकोमा साे क्षेत्रका कार्यकर्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत हराएकोमा खुशी व्यक्त गरेका छन् ।
पार्टी सभापति पदमा बसेको मान्छेलाई वडा अध्यक्षमा समेत टिकट नदिएर आफूलाई अपहेलना गरेको भन्दै साबिकको रैकवार विचुवाका पार्टी सभापति काशीराम भाटले फेसबुकमार्फत कांग्रेसलाई हराएको खुशी व्यक्त गर्नुभएको हो । उहाँले उपमेयर र वडा अध्यक्ष दुवै घोडाघाटमा दिएर आफ्नो अपहेला गरेको हुँदा साथीहरुको सहयोगमा कांग्रेसलाई हराएको उल्लेख गरेका छन् ।
भाटले फेसबुकमार्फत चन्द्रबहादुर साउद, प्रकाश भट्ट, बेदी राना, पुस्कर ओझा (राजघाट), कल्लु राना (पिपरैया), लोकराज राना (राजघाट), बालकृष्ण अवस्थी र श्यामलाल राना (कलुवापुर) को नेतृत्वमा १३ गते राति पिपरैयामा बसेर त्यहाँका बासिन्दालाई विभिन्न कुराको प्रलोभन देखाएर सबैलाई नेकपा एमालेमा भोट हाल्न लगाएको उल्लेख गर्नुभएको छ ।
उहाँले क्षेत्र नं. २ का सभासद एनपी साउदको कमजोरीले आफूले यस्तो कदम चाल्नु परेको भन्दै राजघाट र पिपरैयामा कुनै पदका लागि टिकट नदिएर घोडाघाटलाई दुईवटा टिकट दिई आफूहरुलाई मानिस नभएको भन्ने पुष्टि गरेकाले आफूहरुले यस्तो कदम चालेको उल्लेख गरेका छन् । भाटले साबिकको रैकवारविचुवा गाविस कृष्णपुर नगरपालिकामा समायोजन हुँदा आफ्नो क्षेत्रमा मेयर पदको टिकट दिनुपर्ने भन्दै नेपाली कांग्रेसको पार्टी कार्यालयमा गएको जेठमा ज्ञापन पत्र समेत बुझाएका थिए ।
ज्ञापनपत्रमा रैकवारमा मेयरको टिकट नदिए आफूहरुले कृष्णपुरमा असहयोग गर्ने उल्लेख गरेकाले अन्तर्घात गरेको हुन सक्ने स्रोतले बताएको छ । यसअघि नेपाली कांग्रेसले पार्टीलाई अन्तर्घात गर्नेलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने घोषणा गरेको थियो । कांग्रेसको गढ मानिएको कृष्णपुरमा भने पार्टीभित्रको विवादका कारण नेकपा एमालेले जित हासिल गरेको छ ।