धनकुटा ,असार २०।
जिल्लामा रहेका ३ नगर र ४ गाउ‘पालिकाका मुख्य पदसहित अन्य पद एमाले उम्मेदवारले जितेका छन् भने भने कांग्रेस र माओवादी केन्द्रले केही वडाध्यक्ष र सदस्यमा सीमित हुनु परेको छ ।
अन्तिम नतिजा आएलगत्तै सम्बन्धित पार्टीले औपचारिकरुपमा जीत र हारको समीक्षा गरिसकेका छैनन् । तर नतिजाले क्षणिक रुपमा नै एउटा तरंग भने उब्जाएको छ ।
नतिजा सार्वजनिक भएलगत्तै माओवादी केन्द्र नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएको जनाएको छ । जिल्ला इन्चार्जको नेतृत्व सम्हालेका हेमराज भण्डारीले पराजयको जिम्मेवारी लिंदै नैतिकताको आधारमा राजीनामा दिएको सामाजिक सञ्जाल मार्फत तथा प्रत्यक्ष कुराकानीमा जानकारी गराएका छन् ।
पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनले जिल्लाको नेतृत्वबाट मात्र राजीनामा दिएको उल्लेख गरे । उनले जिल्ला नेतृत्वमा नरही पार्टीलाई अझ सुदृढ र बलियो बनाउने अभियानमा लाग्ने बताए ।
कांग्रेसका जिल्ला सभापति अग्नीप्रसाद पौडेलले महालक्ष्मी नगरपालिकामा मेयर पदमा उमेद्वारी दिएका थिए । त्यसमा पनि कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गरेको थियो । एमालेका मेयरका उमेदवार पर्शुराम नेपालसँग उनी पराजित हुन पुगे ।
पार्टीको जिम्मेवारी नेतृत्वमा रहेका पौडेलले आफ्नो पराजित हुनुमा निर्वाचनको तत्कालिन कारण मुख्य रहेको प्रतिक्रिया दिए । उनले अस्वस्थ्य रहेको अवस्थामा उमेद्वार नदिने इच्छा पार्टी नेतृत्व समक्ष बारम्बार जानकारी गराउ‘दा समेत आफू दवाबमा परेको बताए । ‘पार्टीको बलियो आधार भएका स्थानमा न्युन मात्र मत आउनुमा प्रचारात्मक अभियानमा राम्ररी खट्न नसक्नु पनि एक कारण हो’ उनले भने, ‘आफुले विश्वास गरेका व्यक्ति पनि चुनावमा खट्न नसक्नु पनि पराजयको थप कारण महशुस भएको छ ।’
पौडेलले विगतमा भन्दा यो निर्वाचनमा पार्टीको मत भने संतोषजनक रहेको दावी गरे । पराजित भएपनि समग्र मतलाई नियाल्दा पार्टी सवल रहेको उनको भनाई छ । संविधानसभाको दोस्रो निर्वाचनमा जिल्लाको क्षेत्र नं.२ मा कांग्रेस उमेद्वारको जमानाजपथ भएको स्मरण सुनाउ‘दै उनले छोटै अवधिमा सवल रहेको उल्लेख गरे । त्यस क्षेत्रमा २०७० को संविधानसभा निर्वाचनमा पहिलो शक्ति रहेको राप्रपालाई पछि पार्दै कांग्रेस अगाडी बढेको छ । पराजित भएपछि जिल्लामा पार्टीको नेतृत्वमा अब आफु रहने वा नरहनेबारे अग्रज नेतासंग सरसल्लाहा गरेर मात्र निक्र्यौल निकाल्ने उनले प्रतिक्रिया दिए ।
उता एमालेले आफ्नो पार्टी पहिलो शक्तिको रुपमा स्थापित हुनुमा संगठन सुदृढ र नेता कार्यकर्ताको लगाव मुख्य रहेको प्रतिक्रिया दिएको छ । मतदाताले पार्टीको सिद्धान्त र आदर्शलाई मन पराएकोले यो परिणाम आएको एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईको भनाई छ । एमालेले पत्रकार भेला गरेरै जीतबाट नमात्तिने र पार्टीलाई अझै सवल बनाउन जुटिरहने जनाएको छ । जिल्लाका ७ तहका ६० वडा मध्ये ४३ मा पार्टीले जीत हात पारेको राईले बताए । यसैगरी जिल्लाका सबै नगर तथा गाउ‘पालिकामा पार्टीले मुख्य पद सहित जीत हात पारेपनि अन्य जिम्मेवार राजनैतिक दलसंगको सहकार्य गर्दै अगाडी बढ्ने राई बताउ‘छन् ।