असार १९ ।
विराटनगर महानगरमा दिनरात ५ दिन मत गणना गर्दासमेत १४ हजारको हाराहारीमा मात्र गणना भएपछि काठमाडौंबाट टोली पुगेको छ। सोमबार दिउँसो आएको ९ जनाको टोलीले गणना पनि सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।
गणना ज्यादै सुस्त भएको गुनासो आएपछि टोली बोलाइएको हो । ‘यहाँका कर्मचारीले धेरै ढिलो गरी गणना गरे,’ मोरङका प्रजिअ यज्ञराज कोइरालाले भने, ‘यहाँको एउटा टोलीले दिनभरमा ३ सयदेखि ४ सय गणना गर्दो रहेछ । काठमाडौंबाट आएको एउटा टोलीले दिनमा हजारदेखि १२ सयसम्म गणना गर्दो रहेछ । आशा गरौं अब चाँडो हुन्छ ।’
आयोगको केन्द्रीय कार्यालयवाट एक उपसचिवसहित ११ अधिकृतको नाम आए पनि सोमबार ९ जना आएर काम थालेका छन् । उनीहरू पहिलो चरणअन्तर्गत काठमाडौं महानगरपालिकाको गणना गरेका हुन् ।
७ ठाउँमा महानगरपालिका वडा नम्बर १,२,३,४,१६,१७ र १८ नम्बरको गणना भइ रहेको छ । सोमवार वडा नम्बर १ र १६ को परिणाम घोषणा भएको छ । वडा नम्बर १ मा ४ हजार ५ सय ११ र १६ नम्बर वडामा २ हजार ७ सय ११ मत झरेको थियो । आयोगले सोमवार साँझ सम्म १४ हजार ५ सय मतगणना भइसकेको जनाएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले गणनामा सघाउन सार्वजनिक सूचना गरी सरकारी कर्मचारीलाई सहयोगको आहवान गरे पनि कर्मचारीले चासो देखाएका छैनन् । गर्मी र लामखुट्टेले सताउने हुदा कर्मचारीहरू गणना वस्न चाहदैनन् भने बसेकाले पनि सोचे जस्तो चाडो गन्न सकेका छैनन् । मंगलवार बिहानसम्ममा वडा नम्बर २, १८ र ४ को नतिजा आउने आयोगले जनाएको छ ।
आयोगका क्षेत्रीय प्रमुख प्रेम सञ्जेलले फेसबुकमा समेत गणना सहघाउन कर्मचारीलाई आग्रह गरेका थिए । तर दिनभर पनि कुनै कर्मचारी सम्पर्कमा नआएको उनले बताए । सञ्जेलका अनुसार गणनामा खटिने अधिकृतले सरकारको नियमअनुसार १६ सय र थप ७ सय गरी २३ सय रुपैयाँ प्रतिदिन भत्ता पाउँछन् । तर, गणनामा खटिने टिमले ८ घण्टामा ५ सय मत गणना गर्नुपर्छ । १० किमि टाढा जानु परे यातायात खर्चको पनि व्यवस्था गरिएको हुन्छ ।