दाङ, असार १७ । बंगलाचुली गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी भक्तबहादुर वलीको गजवको कहानी छ ।
वलीले स्थानीय निर्वाचनमा ह्याट्रिक पुरा मात्रै गरेनन् पार्टी परिवर्तन गर्ने काममा पनि ह्याट्रिक पुरा गरेका छन् । २०४९ सालमा तत्कालीन लोहरपानी गाविसको अध्यक्ष भक्तबहादुर वली राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्वाचित भएका थिए ।
त्यसको पाँच बर्ष पुरा नहुदै उनै वली २०५४ सालमा नेकपा नेकपा एमालेको तर्फबाट साविककै लोहरपानी गाविसबाट अध्यक्ष पदमा विजयी भएका थिए ।
एमालेको तर्फबाट अध्यक्ष पदमा विजयी भएका उनै वली २० बर्षपछि स्थानीय तहको निर्वाचनबाट अध्यक्ष पदमा विजयी भएका छन् । दाङको पहाडीक्षेत्र बंगलाचुली गाउँपालिकाबाट माओवादी केन्द्रको साख समेत जोगाइ दिएका छन् । २०४९, २०५४ हुदै २०७४ सालसम्म उनै ६१ बर्षीय भक्तबहादुर वलीले तीन वटा पार्टीको परिवर्तन गर्नुका साथै अध्यक्ष पदमा समेत ह्याट्रिक पुरा गरेका छन् ।
साविकका लोहरपानी, स्युजा, काभ्रे र हासीपुरका ६ वटा वडा मिलाएर बंगलाचुली गाउँपालिका निर्माण गरिएको हो । भक्तबहादुर वलीले जति नै पार्टी परिवर्तन गरे पनि अहिलेसम्म उनलाई मतदाताहरुले छोड्न सकेका छैनन् ।
असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा काँग्रेसका भोजराज पाण्डेलाई आठ सय ३७ मत अन्तरले पराजित गरेका हुन् ।