धादिङ , १४ असार ।
अबिरल बर्षा पछि आएको पहिरोमा परी उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका– ५ चपाङचेतको गाउँ नै विस्थापित भएको छ ।
दुई दिनदेखि परेको वर्षाका कारण गाउँ तलबाट पहिरो जाँदा गाउँ जोखिममा परेपछि स्थानीयबासी विस्थापित भएर नजिकैको जङ्गलमा बसेको चपाङचेतका नेत्रराज घलेले बताउनुभयो ।
गएराति आएको बर्षाले साबिकको लापा गाविस– २ को चपाङचेतका केही ठाउँमा पहिरो गएको छ भने वर्षाको पानीले घरको जग नै चिरा चिरा पारिदिएको छ ।
पहिराले स्थानीयवासी गुरुङ घले, रुक घले, मनाङ घले, मलङ तामाङ, परमेन तामाङ, छिरङ तामाङ, नीरबहादुर तामाङ, तामर तामाङ, सुदिव तामाङ र मनाङ तामाङका घरमा क्षति पु¥याएको छ ।
प्रभावितहरु अहिले गाउँमाथिको जङ्गलमा गएर बस्न बाध्य भएका छन् । उनीहरुले बस्ती स्थानान्तरण गरिदिन सरकारसँग माग गरेका छन् ।
भूकम्पका कारण चिरा परेको जमिनमा ठूलो पानी पर्दा पहिरो जाने खतरा कायमै रहेकोले बस्ती नै सार्नुपर्ने भनी पुनःनिर्माण प्राधिकरणको विज्ञको टोलीले प्रतिवेदन दिए पनि बस्ती सार्न जिल्लाबाट कुनै पहल नभएपछि गाउँबासी वर्षा लागेसँगै खतरामा परेका हुन् । प्राधिकरणले जिल्लाका १० स्थानमा रहेको पहिराका कारण बस्ती सार्नुपर्ने प्रमाणित गरेको थियो ।