दोलखा, असार १४।
दोलखामा पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । आज विहान साढे १ बजे तिर गएको पहिरोले घर बगाउँदा उनीहरु वेपत्ता भएका हुन् ।
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ९ को लाकुरीडाँडाको कुतकुतेमा रहेको मंगले थामीको घर बगाउँदा उहाँकी ४० बर्षिया श्रीमती शान्ति थामी, १५ वर्षिया छोरी रोशनी थामी र १२ वर्षिया छोरी सन्तोषी थामी पहिरोमा परेका प्रहरीले जनाएको छ ।
दोलाखाका प्रहरी नायक उपरिक्षक रामेश्वर कार्कीका अनुसार शान्तिको शव भेटिएको छ । उहाँका दुई छोरी र छिमेकी ७० वर्षिया लाटी थामीको खोजी भइरहेको छ ।
मंगले थामी शौचालय गएकाले बाँच्न सफल हुनु भएको छ । प्रहरीका अनुसार लाकुरीडाँडाका २० घर पहिरोको जोखिममा छन् ।
उता धादिङको रुबी भ्याली गाउँपालिका–५ को चपाङ चेतमा पहिरो गएपछि ३० घर विस्थापित भएका छन् । पुनर्निर्माण प्राधिकरणबाट खटिएका प्राविधिकले सार्नुपर्ने बस्तीको रुपमा प्रमाणित गरेको भएपनि जिल्ला विपद व्यवस्थापन समितिले कुनै निर्णय दिन नसक्दा चपाङचेतका ३० घरका मानिस जोखिपूर्ण रुपमा सोही स्थानमा बसोबास गर्न बाध्य भएका छन् ।
३ दिनदेखि परेको वर्षका कारण पहिरो जाँदा गाउँ जोखिममा परेपछि गाउँले विस्थापित भएर नजिकैको जंगलमा बसेको बताइएको छ । साबिकको लापा गाविस वडा नं. २ मा रहेको चपाङचेत टोलको केही ठाउँमा पहिरो गएको छ भने वर्र्षाको पानीले घरको जगनै चिराचिरा पारिदिएको छ ।