काठमाडौं , असार १४ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज भइरहेको निर्वाचनमा मतदानका लागि मतकेन्द्रमा पुगेका दुई वृद्धको मृत्यु भएको छ ।
पाल्पामा मतदानका लागि लाईनमा रहेका ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको मृत्यु भएको छ ।पाल्पाको अरननिको आधारभुत विद्यालय यम्घास्थित मतदान केन्द्रमा मतदानका लागि लाईनमा उभिएका भट्टराई एक्कासी ढलेका थिए । उनको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यस्तै झापामा पनि मतदान गर्न आएका ८२ वर्षीय नरेन्द्रबहादुर भण्डारीको मृत्यु भएको छ ।
झापाको दमक–९ स्थित सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्न गएका ८२ वर्षीय भण्डारीको हृदयघातबाट मृत्यु भएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीबाट मतपत्र लिएर मतपेटिकातर्फ गएका उनलाई अकस्मात हृदयघात भएको थियो । उनको तत्कालै मृत्यु भएको बताइएको छ ।