कपिलवस्तु, असार ११ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले सत्तारुढ नेपाली कांग्रेसको चुनाव प्रचारमा सक्रिय सहभागिता जनाएका छन् । कपिलवस्तुको गोरुसिंगे र बाणगंगा नगरपालिकाका चुनावी कार्यक्रमहरुमा सक्रिय भएपिछ उपाध्याय पुन ः विवादमा आएका छन् ।
बुधवार दिउसो ४ बजे कपिलवस्तु आइपुगेका राजदूत उपाध्याय कांग्रेस उम्मेदवार किरण सिंह र लक्ष्मी गुप्ताको चुनावी कार्यक्रममा सहभागि भएका हुन् । चुनावी अभियानमा सहभागिता हुन भनेरै कपिलवस्तु आएका उपाध्यायन बुधवार देखि शनिवारसम्मका चुनावी कार्यक्रममा सहभागि भएर फर्केको कांग्रेस कार्यकर्ताहरुले वताएका छन् ।
उपाध्यायले कांग्रेस उम्मेदवारहरुले आयोजना गरेको प्रचार भेलामा भारत सरकारसँग चुनावी सहयोग ल्याइदिने वचन दिएका थिए । ‘के के आवश्यक पर्छ, त्यसको सर्टिङलिष्ट दिनुहोला’ उपाध्यायको भनाई उद्धृत गर्दै भेलामा सहभागि एक कार्यकर्ताले भने, ‘यसपटकको चुनावका लागि आवश्यक सहयोग जुटाउन मलाई सहज छ ।’
चुनावी कार्यक्रममा राजदूत सहभागि हुन नहुने निर्वाचन आचार संहिता सम्झाउँदा कांग्रेसका ती कार्यकर्ताले कपिलवस्तु जिल्लाको विकासका लागि के के गर्न सकिन्छ भन्ने विषयमा मात्रै छलफल भएको र त्यहाँ कांग्रेसका उम्मेदवारहरु रहनु संयोग भएको वताए । उपाध्यायले कांग्रेस उम्मेदवारलाई चुनावका लागि आर्थिक सहयोग पनि उपलब्ध गराएको उनले वताए । ‘उहाँ राजदूत मात्रै होइन, यही जिल्लाको नेता पनि हो, उहाँले आफ्ना उम्मेदवारलाई जिताउन आर्थिक, भौतिक र नैतिक जेसुकै सहयोग गर्नु सक्नुहुन्छ’ उनले भने ।
आर्थिक सहयोग गर्ने वचन दिए पनि उनले नगद हस्तान्तरण गरे नगरेको ती कार्यकर्ताले वताउन सकेनन् । स्रोतका अनुसार सहयोगका लागि भारतरको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका प्रतिनिधिसँग कांग्रेस उम्मेदवारहरुलाई सम्पर्कमा पुर्याइदिने उनले वताएका थिए । चक्रपथ डट कमका अनुसार राजदूत उपाध्यायले शनिवारै योगी आदित्यनाथसँग भेटवार्ता गरेका थिए ।