विस्फोटमा परी बस चालक बर्दघाट नगरपालिका चिसापानीका नरबहादुर बिक घाइते भएका छन्। विष्फोटमा परी घाइते हुने अन्यमा बेलकुमारी कठरिया, मिना चौधरी, १४ वर्षीय बालक श्रीकान्त केवट र फुलकुमारी कठरिया रहेका छन्। उनीहरु सबै सुनवल नगरपालिका भतौडी गाउँका हुन।
घाइते मध्ये मिना चौधरी फुलकुमारी कठरियाको अवस्था गम्भीर छ। उनीहरु सबैको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नवलपरासीमा बम पडिएसँगै बम कसले पड्कायो भन्ने चासो बढेको छ । अहिलेसम्म घटनाको कसैले जिम्मेवारी लिएको छैन ।
शून्य समय सुरु हुनुपूर्व सुनवल नगरपालिकामा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलले दिउँसो चुनावी जुलुस र सभाको आयोजना गरेका थिए। सोही जुलुसमा सुनवलबाट भूमहीतर्फ माओवादी कार्यकर्तालाई लिएर जाँदै गरेको बसलाई लक्षित गरेर सुनवलको सोमनाथ पुलमा विस्फोट गराइएको थियो। माओवादी केन्द्रको जुलस पछाडि एमालेको जुलुस थियो।
माओवादी केन्द्रका कार्यकर्ता बोकेको लु १ ख ६७७३ नम्बरको बस सोमनाथ पुलमा पुग्ने बित्तिकै विष्फोट भएको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो।
विस्फोटको प्रकृती हेर्दा पुलमा टाइम बम जडान गरिएको हुन सक्ने प्रहरी उपरीक्षक चौधरीको भनाइ छ। विस्फोटबाट बसका झ्यालका सीसा र सिटमा क्षति पुगेको छ।