नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले प्रहरी भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु, दुई जना बेपत्ता (अपडेट )

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले प्रहरी भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु, दुई जना बेपत्ता (अपडेट )

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

चितवन ,९ असार ।

नारायणढ मुग्लिन सडक खण्ड अन्तरगत इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित तीन किलोमा खसेको पहिरोमा परि दुई जना प्रहरीको मृत्यु भएकाे छ भने दुई जना बेपत्ता भएका छन् ।

बिहिवार राति १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको ना१झ ९३ नम्बरको भ्यान र ना५ख ७८२७ नम्बरको ट्रकलाई पुरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले बताउनु भयाे ।भ्यान पुरिएकै र ट्रक नदीमा खसेको अवस्थामा फेला परेकाे उहाँले बताउनु भयाे ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक २९ वर्षीय निश्चल तामाङ र गाडीका चालक प्रहरी जवान ३० वर्षीय दीपककुमार मास्केको शव भेटिएको हो । तामाङ धादिङ जिल्ला खनिया गाउँपालिका–४ का र मास्के बारा जिल्लाको हरैया–६ का हुनुहुन्थ्यो । उहाँहरुको शवलाई सडकभन्दा तल नदीमाथि भिरमा पहिरोले किचिएको अवस्थामा फेला परेको घटनास्थलमा रहनुभएका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । गाडीका चालक मास्के र प्रहरी सहायक निरीक्षक तामाङ गाडीको अघिल्लो सिटमा रहनुभएको थियो ।

पहिरोमा परी इलाका प्रहरी कार्यालय मुग्लिनका जवान २१ वर्षीय सन्दीप कार्की र ३१ वर्षीय लीलाबहादुर चेपाङ पनि बेपत्ता हुनुभएको छ । कार्की तनहुँको रुपाकोट–३ का र चेपाङ गोरखा मकैसिङ–१ का हुनुहुन्छ । उहाँहरुसँगै प्रहरीको ना१झ १३९० नंको भ्यान र दुई थान एसएलआर हतियार बेपत्ता भएका छन् । प्रहरी उपरीक्षक थापाले सुरुमा सडकमै पहिरोमा भ्यान पुरिएको अनुमान गरिएको भए पनि शवलाई भिरमा भेटिएपछि गाडी त्रिशूलीमा खसेको अनुमान गरिएको बताउनुभयो । पहिरोले भिरमा अड्काएको ना५ख ७८२७ नंको ट्रकका सहयोगी चालक सिजल लामालाई उपचारका लागि आँबु खैरहनी लगिएको छ भने चालक रामकुमार लामा सकुशल रहेको प्रहरीले जनाएको छ । मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ पहिरो खसेको हो ।

सवारीसाधन र बेपत्ता भएकाको रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले खोजी कार्यलाई तीव्रता दिएका छन् । सोही सडकको चारकिलोमा खसेको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको छ । दुई पहिरो बीचमा रहेका सवारीसाधनलाई नारायणगढतर्फ पठाइएको प्रहरी प्रमुख थापाले बताउनुभयो ।

मुख्य घटनास्थलमा खसेको पहिरो भने पन्छाउने क्रम जारी रहेको छ । राति ९ः४० बजे कालीखोलाको मुखमा खसेको पहिरो पन्छाउन नपाउँदै चारकिलोमा पहिरो खसेको थियो । चारकिलोको पहिरो पन्छाउन नसकेपछि फर्किने क्रममा सो ठाउँमा पहिरो खसेर गाडी दुर्घटना भएको हो ।

मनसुनी वर्षा सुरु भएसँगै नारायणगढ मुग्लिन सडकखण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिरहेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी उपरीक्षक दीपक थापासहितको सुरक्षा टोली परिचालन भएको हो । इप्रका मुग्लिन र जिल्ला प्रहरी कार्यालय चितवनको टोली, सशस्त्र प्रहरीको विपद व्यवस्थापन तालिम केन्द्रको टोली र चितवनस्थित नेपाली सेनाको टोली खोज तथा उद्धारमा खटिएक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ