सुनसरी, असार ८ ।जारी स्थानीय तहको निर्वाचनमा धेरैले विकासको योजना र एजेण्डा अगाडि सारेर निर्वाचनमा होमिएका छन् ।तर स्थानीय तहको चुनावमा मेयरको उम्मेदवार बन्नु भएका सुनसरी इनरुवाका राजन मेहताले भने ‘भैँसी सुन्दरी’ प्रतियोगिता आयोजना गर्ने आफ्नो घोषणा पत्रमा उल्लेख गर्नु भएको छ ।
नेपाली कांग्रेसका तर्फबाट इनरुवा नगरपालिकको मेयरमा उम्मेदवारी दिएका राजनले भैँसी प्रतियोगितामा सुन्दर ठहरिएको भैँसीको धनीलाई पुरस्कार स्वारुप अर्को भैँसी दिने समेत घोषणा गर्नु भएको छ । वर्षै पिच्छे भैँसी सुन्दरी प्रतियोगिता बाहेक गाई सम्मेलन र बाख्रा सम्मेलन समेत गर्ने प्रतिबद्धता जनाउँदै अहिले मेहता मतदातासँग भोट माग्दै हिँडिरहनु भएको छ ।
मेहताले भन्नु भयो ‘ विकास निर्माणसँगै भैँसी सुन्दरी प्रतियोगिता, गाई र बाख्रा सम्मेलन मेरा मुख्य एजेन्डा हो ।’ उहाँले स्पष्ट पार्नुभयो ‘इनरुवा कृषिमा आधारित नगर हो । धेरैको पेशा कृषि भएकाले किसानलाई प्रोत्साहान गर्न भैँसी सुन्दरी प्रतियोगिता, गाई सम्मेलन र बाख्रा सम्मेलनको एजेन्डा अघि सारेको हो ।’
उहाँले अघि भन्नुभयो ‘कृषिको आधुनिकिकरण र बजारिकरण नभएसम्म इनरुवाको विकास सम्भव छैन । आधुनीकिकरण र व्यवसायीकरण गर्नका लागि हामीले यस्तो एजेन्डा अघि सारेका हौ । भैँसी सुन्दरी प्रतियोगितामा किसानका लागि आधुनिक तरिकाले भैँसी कसरी पाल्ने, भैँसीको बारेमा आवश्यक प्राविधिक सरसल्लाह र उपचार समेत गरिदिने योजना रहेको छ ।
यसैगरी गाई र बाख्रा सम्मेलनले समेत गाई र बाख्राका बारेमा किसानलाई धेरै भन्दा धेरै जानकारी दिने योजना रहेको छ ।’
कसरी छानिन्छ सुन्दरी भैँसी ?
इनरुवा नगरपालिका क्षेत्रमा रहेका भैँसी पालक किसानले प्रतियोगितामा भाग लिनका लागि पहिला आफ्नै टोलका अरु भैँसी पालक किसानसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । सबै भन्दा बढी दूध दिने, रोग नलागेको र हेर्दा पनि आकर्षक भैँसी टोल, वाड हुँदै नगर स्तरिय भैँसी सुन्दरी प्रतियोगितामा आइपुग्छ । अन्तिम चरणमा आएका भैँसी मध्ये उत्कृष्टले सुन्दरी भैँसीको उपाधि जित्छ ।
उपाधि विजेता भैँसीको धनीले अर्को भैँसी पनि पाउँछन् । सुन्दरी भैँसी छनौटमा विशेषज्ञ पशु डाक्टरको टोली सहभागी हुने मेयरका प्रत्याशी राजन मेहताले बताउनुभयो ।
