चितवन, ७ असार ।
गृहमन्त्री जनार्दन शर्माले संविधान, कानुन, सरकारका नीति कार्यक्रम लागु गर्नका लागि सरकारमार्फतका समग्र सुरक्षा संयन्त्रलाई परिचालन गरिने बताउनु भएको छ ।
चितवनमा आज आयोजित कार्याक्रममा बोल्दै गृहमन्त्री शर्माले सरकारले कहिल्यै प्रहरीको मनोबल नघटाउने बताउनु भयो ।
उहाँले भन्नुभयो “त्यसमध्येको महत्वपूर्ण सङ्गठन प्रहरी सङ्गठन हो । यसको मनोबल गिराउने काम सरकारले गर्दैन, उच्च मनोबल बनाउँछ ।”
उहाले दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको बताउदै सरकारले आफ्नो साधन स्रोत र शक्ति परिचालन गरेर समग्र सुरक्षाको व्यवस्था मिलाएको पनि जानकारी दिनुभयो ।
असन्तुष्ट भएका राजनीतिक दलसँग पनि वार्ता र संवाद गरेर सहमतिमा निर्वाचनको मिति तय भएकाले निर्वाचनको वातावरण बनेको गृहमन्त्री शर्माको धारण छ ।
यसअघि आजै जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १७३ औँ समूहको दीक्षान्त समारोहमा उहाँले प्रहरीमा राजनीतिक गन्ध, गुटबन्दी र विभाजन राज्यलाई स्वीकार्य हुँदैन भन्दै त्यसो भएमा सरकारले कारबाही गर्ने चेतावनी दिनुभयो ।
उहाँले ‘चेन अफ कमान्ड’भित्र आफूलाई सक्षम साबित गर्न निर्देशन पनि दिनुभयो । नीति, नियम र कार्य्विधि बनाएर वृत्ति विकासका काम अगाडि बढाइने जानकारी उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संविधान कार्यान्वनको ऐतिहासिक घडीमा प्रहरी सेवामा प्रवेश गरेका प्रहरी सहायक निरीक्षकलाई देश र जनताप्रति समर्पित भएर काम गर्न निर्देशन दिनुभयो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निमित्त प्रहरी नायब महानिरीक्षक देवेन्द्र सुवेदीले तालिम केन्द्रमा स्थापित एनपिए इन्टरनेट राष्ट्रिय प्रहरी प्रतिष्ठान इ–लाइब्रेरीका बारेमा जानकारी गराउनुभएको थियो । सोको गृहमन्त्री शर्माले आजै उद्घाटन गर्नुभएको थियो ।
समारोहमा शिक्षालयका समादेशक प्रहरी नायब महानिरीक्षक रणबहादुर चन्दले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तालिमबाट १५० प्रहरी सहायक निरीक्षकलाई दीक्षित गरिएको छ ।