काठमाडौं, असार ७ ।
आज विश्व योग दिवस नेपालमा पनि योग तथा आध्यात्मको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ‘विश्व योग दिवस’ मनाइदै छ ।
योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसंघले दुई वर्षदेखि हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो । यूनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सन् २०१६ मा दर्ता गरेको छ ।
नेपाल योग एसोसिएसन र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आज विहान ५ बजेदेखि ७ बजेसम्म काठमाडौंको भृकुटीमण्डपमा योगाभ्यास गरेर यो दिवस मनाइएको छ ।
दिवसकै अवसरमा राजधानीको प्रदर्शनीमार्गमा आयोजित योग समारोहको शुभारम्भ गर्दै प्रधानमन्त्री शेरवहादुर देउवाले शारीरिक र मानसिक स्वास्थ्यको पूर्णताको लागि योगको अभ्यास आवश्यक रहेका बताउनु भएको छ ।
बालबालिका देखिनै योगको अभ्यास गराउन सकिए युवा पुस्ता कुलतमा फस्न सक्ने समस्याबाट जोगाउन सकिने प्रधामन्त्री देउवाको भनाई थियो ।
उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले योग शिक्षालाई नेपालको शिक्षामा अनिवार्य गर्न सरकारले गृहकार्य गरेको जानकारी दिनुभयो ।
योग गर्न समाजका विभिन्न क्षेत्रका सयौं मानिस भृकुटीमण्डपमा पुगेका थिए । मन र मस्तिष्कको सम्बन्धलाई योग भनिने र योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ ।
योगलाई ध्यानको आधार मानिनुका साथै शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन् । हजारौं वर्ष पहिले पतञ्जली नामका ऋषिले शुरुवात गर्नुभएको योगमा १ सय ९५ वटा योगसूत्र समाहित छन् ।
