असार ६, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वकालमा तात्कालिन दरवारसँग सम्बन्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्धारा लिखित पुस्तक ‘अंश’को बिमोचन गर्दै प्रचण्डले दरबारसंग कुराकानी भइरहेकै बेला दरवार हत्याकाण्ड भएको बताउनु भयाे ।
दाहालले तत्कालिन राजा वीरेन्द्रका भाइ धिरेन्द्रसँग प्रत्यक्ष कुराकानी भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले वार्ताका लागि कोशिस गरिरहेका थियौं । वीरेन्द्रसँग वार्ताको प्राविधिक विषयमा कुराकानी चलिरहेको थियो, त्यही बेला दरबार हत्याकाण्ड घट्यो । दरबार हत्याकाण्डले नेपाली राजनीतिमा नयाँ मोड लियो ।’ अध्यक्ष दहालले दरवार हत्याकाण्डले देशभित्रका गणतन्त्रवादी र लोकतान्त्रिक शक्तिहरुबीच समझदारी गरेर जानुपर्ने ऐतिहासिक आवश्यकता जन्माएपनि प्रतिकूल परिस्थितिका कारण देशभित्रै चाहे पनि दिल्ली गएर १२ बुँदे समझदारी गर्नु परेको दावी गर्नुभयो ।
अध्यक्ष दाहालको भनाईले तात्कालिन नेकपा माओवादीले सशस्त्र संघर्षकै बेला दरवारसँग सम्बन्ध स्थापित गरेको भन्ने कांग्रेस र एमाले नेताहरुले यसअघि पटक पटक भन्दै आएको भनाइलाई पुष्टि गरेको छ । दाहालले दरवार हत्याकाण्डपछि फेरिएको राजनीतिक परिस्थितिले गणतन्त्र र लोकतन्त्रमा जान बाध्य बनाएकोसमेत उल्लेख गर्नुभयो । दाहालले माओवादीले सुरु गरेको सशस्त्र संघर्ष कुनै नेताको मनोगत चाहनाले भन्दापनि परिस्थितिले निम्त्याएको उल्लेख गर्नुभयो ।प्रचण्डले नेपालमा जनयुद्ध समाजको आर्थिक, राजनीतिक, सामाजिक अवस्थितिका कारण सम्भव भएको बताउनु भएको हो । पुस्तक बिमोचन गर्दै प्रचण्डले भन्नुभयो, ‘नेपालमा जनयुद्ध प्रचण्ड, बाबुराम वा अरु कुनै नेताको मनोगत चाहनाले भएको थिएन । हामीले त २०४४ सालमै जनयुद्ध गर्न चाहेका थियौं, हतियार किनेर गोरखामा तालिम पनि लिएका थियौं । तर, देशको राजनीतिले अर्कै मोड लियो । पञ्चायतका विरुद्धमा सडकमा जनलहर उर्लेर आयो, त्यस्तो परिस्थितिमा हामीले जनुयद्ध गरेको भए जनआन्दोलनका विरुद्धमा पञ्चायतलाई सघाएको सन्देश जान सक्थ्यो । त्यसैले हामी संयुक्त जनआन्दोलन समिति बनाएर २०४६ सालको जनआन्दोलनमा भाग लियौं र युद्धको परिस्थिति केही वर्ष पछि धकेलियो ।’
आफूहरुले १२ बुंदे समझदारी नेपालमै होस् भन्ने चाहे पनि प्रतिकूल परिस्थितिका कारण सम्भव नभएको प्रचण्डले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले त २०४४ सालमै जनयुद्ध गर्न चाहेका थियौं, हतियार किनेर गोरखामा तालिम पनि लिएका थियौं । तर, देशको राजनीतिले अर्कै मोड लियो । पञ्चायतका विरुद्धमा सडकमा जनलहर उर्लेर आयो, त्यस्तो परिस्थितिमा हामीले जनुयद्ध गरेको भए जनआन्दोलनका विरुद्धमा पञ्चायतलाई सघाएको सन्देश जान सक्थ्यो ।’