काठमाडौ, ४ असार ।
आफूहरुको शान्तिपूर्ण आन्दोलनमा सरकारले हस्तक्षेप गरेको भन्दै राष्ट्रिय जनता पार्टीले आज मधेश र थरुहटका जिल्लाहरुमा आम हडतालको आह्वान गरेको छ ।
प्रदर्शनका क्रममा आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएको, कार्यकर्ताको घरमा जबरजस्ती छापा मारे र हिजो नवलपरासीमा भएको घटनाको विरोध स्वरुप आम हडताल आह्वान गरेको राजपाले जनाएको छ ।
यसैबीच पछिल्लो परिस्थितिको समिक्षा गर्दै आन्दोलनका थप कार्यक्रम तय गर्न राजपाको आन्दोलन परिचालन समितिको बैठक आज बस्दैछ ।
संविधान संशोधन लगायत आफूहरुको माग सम्बोधनका लागि भएको पूर्वसहमति सरकारले कार्यन्वयन नगरेको भन्दै निर्वाचन बहिस्कार गरेको राजपाले विभिन्न चरणको आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।
नवलपरासीमा रहेका अध्यक्ष मण्डलका अन्य नेताहरुले आजपनि त्यहाँ आमसभा एवम् प्रदर्शनको तयारी गरेको राजपा नेता मनिषकुमार सुमनले जानकारी दिनुभयो ।