नवलपरासी , असार ३ ।
नवलपरासीको सदरमुकाम परासीमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।
राजपाको विरोध सभालाई संयोजक महन्थ ठाकुरले सम्बोधन गरिरहेको बेला सभा नजिक मध्यनेपाल यातायात व्यवसायी समितिको काउण्टरमा राखिएको एमालेको चुनाव चिन्ह अंकित टिसर्टलाई राजपाका कार्यकर्ताले जलाएपछि प्रहरी र राजपा कार्यकर्ताबीच झडप भएको थियो । झडप पछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन रबरको गोली चलाएको थियो । टिसर्टलाई राजपाका कार्यकर्ताले जलाउने क्रममा झडप भएको प्रहरीले जनाएको छ ।
झडपमा जमुनिका ५० वर्षीय नर्सीह चौधरी, गेरमीका २७ वर्षीय सुरेश गुप्ता र नर्सहीका ४० वर्षीय भगवन्त गुप्ता घाइते भएका हुन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड रबर गोली र आधा दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको हाम्रा सहकर्मीले जनाएका छन् । झडपपछि भागदौड हुँदा अन्य ६ कार्यकर्ता समेत घाइते भएको राजपा नवलपरासीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ ।