काठमाडौँ, ३ असार ।
वाग्मती सफाइ महाअभियान अन्तरगत आज भएको सफाईका क्रममा उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
बागमती सफाईको २१४ औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उमेश बोहराले बताउनुभयो ।
गुह्येश्वरमाथिको वाग्मतीमा गरेको १७५ औँ हप्ताको सफाइमा आज गोकर्णेश्वर नगरपालिका– ५ स्थित वाग्मती नदी किनारमा बनाइएको उद्यानमा सफाइ गरी दुई मेट्रिक टन फोहर निकालिएको छ।
यसैगरी रुद्रमती सफाइको १७३ औँ हप्तामा आज कालोपुलदेखि रातोपुलसम्म जनचेतनामूलक घरदैलो अभियानसहित सरसफाइ गरिएको थियो । सो क्रममा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिनुभयो ।
विष्णुमती सफाइको १४५ औँ हप्तामा आज नयाँ बसपार्कबाट उत्तरतर्फ विष्णुमती किनारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
यसैगरी चक्रपथ सफाइको दशौँ हप्तामा आज सामाखुसीचोकबाट टाउन प्लानिङसम्म सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।
वाग्मती सफाइ महाअभियानबाट प्रेरित भई विसं २०७४ वैशाख २ गतेदेखि सुरु गरिएको मीनभवन आलोकनगर सफाइ अभियानले आज दशौँ हप्तामा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । महाअभियानबाट प्रभावित भएर देशभर २६ स्थानमा सफाइ भइरहेको छ ।
नायिका मनिषा कोइरालालाई सद्भावना दूत मनोनयन गरेपछि आजको सफाईमा सहभागी हुनेको सङ्ख्या पनि बढेको बताईएको छ ।
वाग्मती सफाइ महाअभियानको गत बिहीबारको बैठकले पूर्व सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको प्रस्तावमा नायिका कोइरालालाई सद्भावना दूत घोषणा गरेको थियो । विसं २०७० जेठ ५ गते शनिबारदेखि बागमती सफाई अभियान सुरु गरिएको हो ।