बृद्व भन्छन् : हामीलार्इ कसले दिन्छ आड ?

बृद्व भन्छन् : हामीलार्इ कसले दिन्छ आड ?

  • शनिबार, असार ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाणडाै, ३ असार ।

भूकम्पपीडित भए पनि सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१०, बडघरेका तीन भाइसँग’भूकम्पपीडित परिचयपत्र’ छैन । परिचयपत्र नभएकैले गाउँका सबैजसो भूकम्पपीडितले सरकारसँग तीन लाख रुपैयाँको अनुदान सम्झौता गर्दा पनि यी तीन भाइ भने अछूतो रहे । कारण थियो, लालपुर्जा नहुनु । आफूसँग भएको जमिन एक दशकअगाडि ऋण तिर्न नसकेर बेच्नु परेपछि यी तीन भाइ भूमिहीन भएका छन् ।

जसलाई जमिन बेचे उसैले बाँचुन्जेल बास बस्नका लागि दिएको ठाउँमा बसिरहेका यी अब केवल सरकारको दयाको आशमा छन् ।’हामीलाई सरकारले दयामायाले दिनुभयो भने हात थापौंला, होइन तेरो केही छैन पाउँदैनस् भने चुप लागेर बसौंला । अब कति बाँचिएला र ? जति बाँचिन्छ यही छाप्रोमा कटाऊँला । भाग्यमा नभएको सुख खोजेरमात्र कहाँ भयो र ?’, तीनमध्येका कान्छा बलराम श्रेष्ठ भन्छन् ।

यो कथा हो ९१ वर्षीय खड्क श्रेष्ठ, ८४ वर्षीय तुलसीदास श्रेष्ठ र ८१ वर्षीय बलराम श्रेष्ठको । कुनै बेला पाँच पाण्डवजस्तै पाँच भाइ थिए यी । जेठा र माइला दाजु उमेरमै बिहे गरेर बुटवल गएछन् । बिहे गरेका दाजुहरूसँग सम्बन्ध टाढियो । आफन्त पनि बाँकी रहेनन् । दाजुहरूको बिहेपछि सम्बन्ध तोडिएको घटनाले विक्षिप्त तीनै भाइले बिहे गर्ने आँट गरेनछन् ।

शैशवकालदेखि सँगै बसेका यी तीन वृद्धसँग अहिले आफूहरूबाहेक आडभरोसा केही पनि छैन । आम्दानीको स्रोतका रूपमा छन्— पाँच गाई र एक बाख्रा । अनि छ हावाहुरी नछेक्ने, पानी नओत्ने मात्र टाउको लुकाउने टिनैटिनको एउटा छाप्रो, त्यो पनि विभिन्न संघसंस्थाले बनाइदिएको । घर थियो भूकम्पले लगिदियो । एक हल मेलोको जमिन थियो ऋणले खाइदियो । केवल बाँकी छ गलेको शरीर, थाकेको नजर केही झिना आशा । तैपनि हिम्मत हारेका छैनन् । बूढो भइयो भनेर कुँजिएर बसेका पनि छैनन् । खड्क रोग र उमेरले थलिएका छन् । बसेको ठाउँबाट उठ्न सक्दैनन् । तुलसीदास र बलराम भने जीवन धान्ने मेसो गरिरहेछन् ।

भूकम्पपश्चात् गाउँमा विभिन्न संघसंस्था आए । तिनले दिएका सामान राहतमार्फत लिए यी दाजुभाइले पनि । सरकारले भूकम्पलगत्तै दिएको पन्ध्र हजार र जाडोमा दिएको १० हजार रुपैयाँ लिएका थिए । यत्ति नै हो सरकारबाट अहिलेसम्म उनीहरूले पाएको सहयोग । योबाहेक कुनै लाभ कसैबाट लिएको छैन यो परिवारले । लाभ लिने आशा पनि नभएको बताउँछन् यी । उमेरले डाँडा काटिसक्यो । दुईचार बाख्रा बेचेर, सामान्य खेतीपाती बेचेर गुजारा गर्दै आएको श्रेष्ठ परिवार अहिले चरम संकटमा छ । सरकारले दिने भत्ता र एक हल खेतीबाट आउने आम्दानीले टिकाएको छ यो परिवारलाई । सरकारले लालपुर्जा हुनेसँग अनुदान सम्झौता गर्‍यो । श्रेष्ठ परिवार र यीजस्ता अरूभने आवश्यक कागजात जुटाउन नसक्दा छुटेका छन् । घरधुरी नहुनु, लालपुर्जा नहुनु गरिबीको दोष भन्न सकिएला तर गरिबीकै कारण पुनर्निर्माणको अनुदान सम्झौता गर्न नपाउनु सरकारको दोष हो ।

स्थानीय तहको निर्वाचन भयो । नेताहरू पटकपटक श्रेष्ठ परिवारको घरमा पुगे निहित स्वार्थ बोकेर । तीन दाजुभाइको भोटबाहेक नेताले त्यहाँ थप केही देखेनन् । जसोतसो आफ्नो पकडमा पार्न सफल भए नेता । भोटको दिन गाडी लिएर मतदान केन्द्रसम्म लाने, लैजाने नेताज्यूहरू, बिरामी हुँदा, दुःख पर्दा मुन्टो बटारेर हिँड्ने गर्छन् । तुलसीदास श्रेष्ठ भन्छन्,’सबैले भोटमात्रै हेरे, हाम्रा लागि कसैले बोलेनन् । हाम्रो पीडा कसैले सुनेनन् । गाउँमा धेरै रूप भएका मान्छे आए तर असल मन भएको कोही भेट्टिएन ।’

उनी थप्छन्,’एउटा सानो घर जहाँ जिन्दगी कटाउन सकूँ, घामपानीको डर नहोस्, हावाहुरीको डर नहोस् । बस्, यति भए जिन्दगी खुसीखुसी बित्थ्योजस्तो लाग्छ । तर कहाँबाट पाउनु कसले दिने ?’ -अन्नपूर्ण पाेष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ