हुम्ला कर्णालीकै लागि पर्यटन विकासको नुमुना

हुम्ला कर्णालीकै लागि पर्यटन विकासको नुमुना

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं ,२९ जेठ । पूर्वमन्त्री जीवनबहादुर शाहीले हुम्लालाई विकासबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।   हुम्ला जिल्ला कर्णालीकै लागि पर्यटन विकासका लागि नमूना भएको बताउदै हुम्लालाई विकासबाट कसैले रोक्न नसक्ने बताए । कर्णाली करिडोरमा सडक निर्माण गरेर जिल्लालाई पर्यटन क्षेत्रमा विकासको थप उचाईमा उठाउन हुम्लीहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

राजधानीको अनामनगरस्थित संवाद डबलीमा शनिबार डबलीका सचिव धनन्जय बुढाकाे संयाेजना  भएकाे ‘हुम्ला जिल्लाको पर्यटन विकास र प्रवद्र्धन विषयक’ अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वपर्यटनमन्त्री शाहीले पर्यटनको स्रोतलाई उपयोग गर्न सके हुम्लाबासी आत्मनिर्भर हुने विचार राखे ।

हुम्ला मानसरोवरमा जाने पर्यटकका लागि मुख्य ढोका भएको बताउँदै शाहीले भने ‘कर्णालीमा भोकमरी नभई भातमरी मात्र भएको छ । यसलाई हामी हुम्लीले अहिल्यैबाट सच्याउन लाग्नुपर्छ ।’

हुम्लालाई विकट भनेर होच्याउने समय गएको उनको भनाई छ । भूकम्पपछि तातोपानी नाका पूर्णरुपले बन्द भएपछि सदरमुकाम सिमिकोट मानसरोवर जाने पर्यटकका लागि प्रवेशद्वार बनेको छ । यहाँबाट जाने अधिकांश पर्यटक भारतीय हुन् ।

हुम्लाको हिल्सासम्म जान केवलकारको व्यवस्था गर्न अत्यावश्यक रहेको औल्याउँदै शाहीले प्याराग्लाइडिङ, हेलिस्किङ, क्यानोइङ, हाइकिङ, र्‍याफ्टिङ, हाइड्रो, कृषि, जंगलसफारी, जडिबुटीलगायत दर्जनौं शीर्षकमा पर्यटकीय गन्तव्य निर्माण गर्न सकिने निश्चितता हुम्लाले बोकेको बताए । हुम्लामा शिक्षित वर्गमा बढोत्तरी आएकोप्रति खुशी व्यक्त गरे ।

कार्यक्रममा शाहीले समग्र पर्यटन विकास गरेर हुम्ला मात्र नभई थोरै समयमा सम्पूर्ण कार्णालीवासीलाई आर्थिक रुपमा सम्पन्न गर्न सकिने योजना प्रस्तुत गरे । कर्णाली क्षेत्रभित्र रहेका ५ हजार ताललाई स्थानीयको जीवनसँग जोड्ने योजना आफूले पर्यटन मन्त्रालय सम्हालेको बेला तय गरेको स्मरण गर्दै त्यसलाई कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे ।हुम्लाको पर्यटन विकासको सम्भावना र चुनौतिबारे सहभागीले राखेको जिज्ञासाको जवाफमा हुम्लालाई ७४ जिल्ला सघाउन सकिने जिल्लाको रुपमा विकास गर्न प्रचुर आधार भएको उदाहरण प्रस्तुत गरे । हुम्लामा हिँडदा पैसामाथि हिडिरहेको जिकिर गर्दै सबैलाई पर्यटन विकासमा लाग्न आग्रह गरे ।

कार्यक्रममा मुगुका सांसद मोहन बानियाँले कर्णाली क्षेत्रको विकास गर्न हुम्लाको विकास महत्वपूर्ण भूमिका रहने बताए । राज्य सत्तामा कर्णालीको पहुँच नहुनुले हुम्लालगायत जिल्लावासीले ठोस रुपमा विकासको अनुभव गर्न नसकेको बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य एवं कर्णाली विकास आयोगका अध्यक्ष डा। चन्द्रकान्त पौडेलले कर्णाली प्राकृतिक, साँस्कृतिक, धार्मिक र सम्पदाको हिसाबले धनी हुम्लालाई राज्यले गहिरोसँग ध्यान दिइरहेको बताए । हुम्लामा राज्यले राम्रो बजेट छुट्याएको र बजेटलाई राम्रो सदुपयोग गर्न स्थानीयहरुले भूमिका खेल्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रम युवा नेता हस्तबहादुर शाहीले हुम्लालाई केवुलकार, ऊर्जा, कृषि क्षेत्रमा विकास गरेर लाखौं संख्यामा पर्यटक भित्र्याउन सकिने धारणा राखे । नेपाल बुद्धिजीवि परिषद्का अध्यक्ष गोविन्द शाहीले हुम्लालाई पर्यटन क्षेत्रमा नेपालको ‘थाईल्याण्ड’ बनाउन सकिने बताए । त्यसनिम्ति राज्यले मात्र नभई स्थानीय जनता र नेताहरु एकजुट हुनुको विकल्प नरहेको भनाई राखे ।

हुम्ला कांग्रेसका सभापति मंगल शाहीले पहिला हुम्लाका नेताको दिमाग सफा गर्नुपर्ने बताए । मानसरोबर, रादेउलगायत क्षेत्रमा जाने पर्यटकका लागि बसोबास र खानपिनको राम्रो व्यवस्था हुन नसक्दा पर्यटक सोचेजस्तो वृद्धि हुन नसकेको बताए । रुटको सरसफाई मात्र गर्न सके धार्मिक पर्यटकले पनि हुम्ला समृद्ध हुन सक्ने धारणा राखे ।

जनसमाजवादी पार्टीका उपाध्यक्ष रणबहादुर रम्तेलले आफ्नो पार्टीले हुम्लाको पर्यटन विकासको लागि विशेष योजना भएको जानकारी गराउँदै सबै सरोकारवाला पक्षसँग छलफल गर्ने बताए ।

उद्योग वाणिज्य महासंघ नेपालगञ्जकी उपमहासचिव तारा रोकायले कर्णाली सुन्दर भूमि रहेको र हुम्लीहरु मिलेर हुम्लालाई थप सुन्दर बनाउनुपर्ने बताइन् । हुम्ला विकासको लागि आफू हरेक हिसाबले सदैव तयार रहेको बताइन् । नेपालगञ्ज–हुम्लाको हवाई संख्या कटौती गरेकोप्रति दुःख व्यक्त गरिन् ।

समाजसेवी लक्ष्मी ऐडीले राजनीतिक परिवर्तनकै कारण हुम्लीले मन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै नयाँ युवालाई राजनीतिलाई सफा गरेर नेतृत्वदायी भूमिका निभाउन आग्रह गरिन् ।

कार्यक्रम एमालेका सर्केगाड गाउँपालिका संयोजक खगेन्द्र कार्कीले हुम्लाको पर्यटन विकासको लागि हुम्लीहरुबीच नियमित अन्तरक्रिया भइरहनु पर्ने सुवाझ दिए ।

कार्यक्रममा पत्रकार डा। दीपेन्द्र रोकायाले हुम्लाको पर्यटन विकास र प्रवद्र्धनबारे ६ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका थिए । वक्ताहरुले कार्यपत्रमाथि टिप्पणी र सुझाव राखेका थिए । वक्ताहरुले कार्यपत्रले हुम्ला पर्यटन विकासबारे आँखा खोलिदिएको टिप्पणी गरे । जिल्ला थुप्रै पर्यटकीय स्थलबारे चर्चा गर्न कार्यपत्रमा समेट्न नसकेको सुझाव दिए ।

उपाध्यक्ष देवकी तिमल्सिनाकाे अध्यक्षातामा भएकाे कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी र पर्यटन पत्रकारहरुसहित ८० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी