काठमाण्डौ ,२० जेठ ।
मुलुकको ४० औं प्रधानमन्त्रीका लागि ब्यवस्थापिका संसदमा भोली हुने निर्वाचनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एकल उम्मेद्वारी परेको छ ।
संसद सचिवालयले बिहान ११ देखि अपराह्न ४ बजेसम्मका लागि तोकेको समयभित्र सभापति देउवाको मात्रै उम्मेद्वारी मनोनयन दर्ता भएको हो ।
विपक्षी दल नेकपा एमालेले समेत मनोनयन दर्ता गर्ने चर्चा चलेपनि अन्तिम समयमा उम्मेद्वारी नदिने निर्णय गरेको थियो ।
कांग्रेस सभापति देउवाले भने बिहान साढे ११ बजे नै संसद भवन पुगेर आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको थियो ।
देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हुनुहुन्छ । यस्तै समर्थकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह रहनुभएको छ ।
भावी प्रधानमन्त्री चयनका लागि भोली बिहान ११ बजे संसदमा निर्वाचन हुनेछ । प्रधानमन्त्रीमा देउवा निर्वा्चित हुन संसदमा हाल कायम ५ सय ९३ सदस्य संख्याको बहुमत अर्थात २ सय ९७ मत आवश्यक पर्छ ।
सत्तारुढ दलहरुसँग भएको सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठ १० गते राजीनामा दिनु भएपछि मुलुकको नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुन लागेको हो ।
सहमतीय सरकार गठन गर्न दलहरु असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गत बुधवार बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वा्चित गर्न संसदलाई पत्राचार गर्नुभएको थियो ।
भरतपुर महानगरपालिकामा मतगणना निरन्तरताको माग गर्दै एमालेले संसद अवरुद्ध गरेपछि संसद सचिवालयले सूचनामार्फत प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।