२० जेठ ,ताप्लेजुङ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले भरतपुर महानगरपालिकामा मतपत्र च्यात्ने पार्टी माओवादी केन्द्रकी मेयर उम्मेदवार प्रचण्ड पुत्री रेणु दाहालको उम्मेदारी खारेज गर्नुपर्ने बताएका छन् ।
निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै मतपत्र च्यातेकाले माओवादीको उम्मेदवारी खारेज गर्नुपर्ने भट्टराईको धारणा छ । दोस्रो चरणको चुनाव प्रचार गर्न गृहजिल्ला ताप्लेजुङ पुगेका सचिव भट्टराईले आचारसंहिताबमोजिम उम्मेदवारी खारेज गरेर बाँकी उम्मेदवारको मतगणना सुरु गर्न निर्वाचन आयोगसँग आग्रह गरे ।
मतगणनाका क्रममा उम्मेदवार दाहाल आवद्ध पार्टी माकेका कार्यकर्ताले मतपत्र ९० वटा मतपत्र च्यातेर नष्ट गरेपछि भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । मत गणना सुचारु नभएसम्म संसद अवरुद्ध संघर्ष जारी रहने पनि उनले बताए ।
त्यस्तै आइतबार हुने नयाँ प्रधानमन्त्रीको निर्वाचनमा सभामुख ओन्सरी घर्तीमगरले प्रक्रिया मिचेको भन्दै आपत्ति जनाए । राष्ट्रपतिले संसदलाई पठाएको पत्र संसदमा दर्ता नगरी नयाँ प्रधानमन्त्रीको निर्वाचनको प्रकृया अघि बढाएको भन्दै उनले आपत्ति जनाएका हुन् । ‘एमाले यसको घोर निन्दा गर्दछ’ उनले भने ।